पञ्चेश्वरमा स्वास्थ्य सम्वाद
पढ्न लाग्ने समय 1 मिनेट
बैतडी । स्थानीय तहका स्वास्थ्य संस्थामा औषधीको कृत्रिम अभाव हुन थालेपछि स्वास्थ्य कार्यालय बैतडीले जनप्रतिनिधि र स्वास्थ्यकर्मीलाई एकै ठाउँमा भेला गरेर औषधी आपूर्तिका लागि सम्वाद थालेको छ ।
गाउँपालिकाको स्वास्थ्य शाखामा औषधीका पोका हुने तर, स्वास्थ्य संस्थामा सिटामोल नपुग्ने अवस्था देखिएपछि स्वास्थ्य सम्वाद थालिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो ।
उहाँले भन्नुभयो, “पञ्चेश्वरमा कुनै वडाको स्वास्थ्य चौकी जिल्ला भरिकै उत्कृष्ट भएर प्रदेशबाट पुरस्कृत पनि भएका छन् भने कुनै वडाको स्वास्थ्य चौकीले आधारभूत स्वास्थ्य सेवा पनि दिन सकेको छैन । यस्तो अवस्था किन आयो? भनेर हामीले सबै स्वास्थ्य चौकी इन्चार्ज र जनप्रतिनिधिलाई बोलाएर आइतबार सम्वाद गरेका छौं ।”
स्वास्थ्य कार्यालय बैतडीले पोषण सम्बन्धीका सामग्री बाल भिटा, तौल जोख्ने उपकरण, आइरन चक्की र परिवार नियोजनका साधन लगेर पञ्चेश्वरमा सम्वाद गरेको छ । स्वास्थ्य सम्वाद सबै पालिकामा आयोजना गरिने बताईएको छ । पञ्चेश्वरमा गरिएको स्वास्थ्य सम्वाद कार्यक्रममा वडा अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत , स्वास्थ्य शाखा संयोजक र स्वास्थ्य चौकी इन्चार्ज सहभागी रहनु भएको थियो ।
सम्वाद कार्यक्रममा सहभागी पञ्चेश्वर गाउँपालिका–४, का वडा अध्यक्ष जनकबहादुर चन्दले स्वास्थ्यकर्मीले वडा कार्यालयबाट गरेको अपेक्षा दृढतापूर्वक पूरा गर्ने प्रतिबद्धता जानाउनु भएको छ । उहाँले स्वास्थ्य चौकीमा औषधी अभाव भए वडा कार्यालयमा समयमै जानकारी आएमा जनप्रतिनिधि अघि लागेर औषधीको आपूर्ति गर्न प्रतिबद्ध रहेको स्पष्ट पार्नुभयो ।
औषधी उत्पादक कम्पनी र वितरक हुँदै पालिकासम्म औषधी पुग्ने तर, वडाका स्वास्थ्य चौकीमा समयमै औषधी ढुवानी नभएको गुनासो सहजिकरण गर्न स्वास्थ्य कार्यालयले जिल्ला भरि संवाद थालेको स्वास्थ्य कार्यालयका ल्याब टेक्निसियन जयसिंह बडालले बताउनुभयो । बडालले बैतडीका १० वटै स्थानीय तहमा रहेका २७ वटा ल्याब सेवाको मापदण्ड निरीक्षण गर्दै आउनु भएको छ ।
स्वास्थ्य चौकी व्यवस्थापनको जिम्मेवारी स्थानीय तह मातहत रहेकाले स्वास्थ्यकर्मी र जनप्रतिनिधि मिलेर आधारभूत स्वास्थ्य सेवा दिनु पर्नेमा उहाँले जोडदिनुभयो ।
प्रतिकृया दिनुहोस