पोखरामा धार्मिक अनुष्ठानः आचार्य कृष्ण दमाई र ज्योतिषी पन्त सहभागी
पढ्न लाग्ने समय 2 मिनेट
बैतडी, कात्तिक ४ गते । गण्डकी प्रदेशको विश्वकर्मा वैदिक कर्मकाण्ड समाजले आयोजना गरेको धार्मिक अनुष्ठानमा सुदूरपश्चिम प्रदेशको बैतडीबाट आचार्य कृष्ण दमाई र ज्योतिष पं.गाणेशप्रसाद पन्त सहभागी हुनु भएको छ ।
कात्तिक २ र ३ गते पोखरा बैदाम स्थित केदारेश्वर महादेव मन्दिर,संस्कृत गुरुकुलसमेत रहेको बोलबम धाममा समावेशी रूपमा दुई दिने धार्मिक अनुष्ठान तथा महायज्ञ सम्पन्न भएको छ । दलित जनजाति परिवारबाट संस्कृत पढेका गुरुहरूको संयुक्त उपस्थितिमा गुरुकुलका बटुकहरुसँग रूद्राभिषेक, हवन लाखबत्ती प्रज्ज्वलन एवं दुई दिने प्रवचन कार्यक्रम गरिएको हो ।
कार्यक्रममा केदारेश्वर धामका प्रमुख डा.लेखनाथ आचार्य (स्वामी विद्वत् चैतन्य) पण्डित दीनबन्धु पोखरेल, पण्डित भीमकान्त पन्थी , पण्डित गणेशप्रसाद पन्त ,पण्डित चन्द्रकान्त पौडेल ,पण्डित राजानन्द माण्डव्य लगायतले ब्राह्मण समुदायको प्रतिनिधित्व गरेर प्रवचन गर्नुभएको थियो ।
त्यसै गरि दलित समुदायको प्रतिनिधित्व गर्दै आचार्य कृष्ण दमाई ,पण्डित लक्ष्मण रसाइली ,पण्डित किरण लामगादे लगायत अन्य विभिन्न गुरुहरू एवं विदुषी माताहरूले कथा प्रवचन एवं भजनकीर्तन गरेको आचार्य कृष्ण दमाईले जानकारी दिनुभयो ।
बोलबम धामका प्रमुख स्वामी विद्वत् चैतन्यले नेपाल भरिका धर्म गुरुले यस्तै किसिमका कार्यक्रम गरेर धर्मरक्षाका लागि अगाडी आउनुपर्नेमा जोड दिएको कार्यक्रममा सहभागी बैतडीका ज्योतिष पं. गाणेशप्रसाद पन्तले जानकारी दिनुभयो ।
आचार्य कृष्ण दमाई जस्ता संस्कृतमा आचार्य गरेका प्रतिभाहरूलाई गुरुकुलमा नै गुरु बनाएर राख्नुपर्ने धारणा पण्डित चन्द्रकान्त पौडेलले व्यक्त गर्नुभएको उहाँले जानकारी दिनुभयो ।
श्रीहरि विश्वकर्मा र राजेन्द्र भुषालको संयुक्त संकल्पमा सो कार्यक्रम गरिएको समाजसेवी बेलबहादुर विश्वकर्माले बताउनुभयो । संस्थाले आगामी दिनमा सबै प्रदेशमा रहेका गुरुकुलहरू एवं धार्मिक मठ मन्दिरहरूमा यस किसिमका समावेशी कार्यक्रमको निरन्तरता दिने प्रयास गर्ने जानकारी विश्वकर्मा वैदिक कर्मकाण्ड समाज कास्कीका अध्यक्ष वास्तुविद् पण्डित लक्ष्मण रसाइलीले बताउनुभयो ।
धार्मिक अनुष्ठान कार्यक्रममा अग्निस्थापन, जपहवन, तर्पण मार्जन, ब्राह्ण भोजन, सिल्पी समुदायबाट प्रमुख यजमान, बेदपाठ, गायत्री मन्त्र दिक्षा, एकाह श्रीमदभागवत महापुरणपाठपारायण, चारबेदपाठ, लघुरुद्राभिषेक, नबचण्डी आदि अलौकिक कार्यक्रम गरि चार सय भन्दा बढी दलित समुदायका व्यक्तीलाई समावेश गराएको बताईएको छ ।
यस्तै कार्यक्रममा सामूहिक सवालाख दीपप्रज्वलन लगायतका हिन्दु धर्मसँग सम्बन्धीत सम्पूर्ण कार्यक्रम समाबेस गरिएको ज्योतिषी पण्डित गणेश प्रसाद पन्तले बताउनुभयो ।
प्रतिकृया दिनुहोस