अस्ताए ‘खोलदेली’का शिल्पकार
पढ्न लाग्ने समय 2 मिनेट
बैतडी, असार ६ गते । सुदूरपश्चिमका मौलिक घरको मुल ढोका खोलदेली होस् कि मन्दिरको देथलो (द्वार)मा कलात्मक बुट्टा भरेर चिटिक्क ढोका तयार पार्ने बैतडीको सुर्नयाका हेड मिस्त्री अजुवा पार्कीको ७७ वर्षको उमेरमा निधन भएको छ ।
सुर्नया गाउँपालिका–७, पत्थरकोट निवासी अजुवा पार्कीको बुधबार विहान १०ः बजे आफ्नै निवासमा निधन छ । सुदूरपश्चिमको मौलिक घर र खोलदेली निर्माणका सीपालु अजुवा पार्कीकाले निधन हुनुअघि छोरा÷नाति र आफन्तलाई ‘खोलदेली बनाउने सीप सरकार र कुनै नेताले नजोगाउने भन्दै आफ्नो सीप आफै जोगानू’ भन्ने आर्ति दिएर अस्ताएको उहाँको जेठो छोरा विश्वराम पार्कीले बताउनुभयो ।
हेड मिस्त्री पार्कीका दुई छोरा बुहारीसहित नातिनातिना छन् । उहाँका दुबै छोरा मुटुरोगी भएकाले नातीहरु खोलदेली बनाउने सीप सिकून भन्ने उहाँको चाहना रहेको थियो । यद्यपि, मौलिक सीपले गुनारा नचलेपछि उहाँका दुई जना नाति रोजगारी खोज्न भारत पसेपछि उहाँ चिन्तित हुनुहुन्थ्यो ।
विसं. २००४ सालमा जन्मनु भएका हेड मिस्त्री अजुवा पार्की सुदूरपश्चिमका मौलिक ढुङ्गाको घरसँगै काठको खोलदेली निर्माणका लागि पारङ्गत हुनुहुन्थ्यो । उहाँले, आफ्नो जीवनकालभरि हजारौं मौलिक घरका खोलदेली निमार्ण गरेको पारिवारका सदस्यले बताएका छन् । यो बाहेक बाँस चोयाका मौलिक सामग्री मोट्टा, डोको÷डालो बुन्न पनि उहाँ निकै सीपालु हुहुन्थ्यो ।
गाउँमा सडक पुगेपटिछ कङ्क्रिटका आधुनिक घर निर्माण हुन थालेपछि मौलिक घरको खोलदेलीको बजार नभएकाले भारत पसेको अजुवा पार्कीका नाति जीवन पार्कीले बताउनुभयो ।
उहाँले भन्नुभयो,“ मौलिक सीप जोगाउनु पर्छ तर, मौलिक घर नै हराउन थालेपछि सीपको बजार छैन । सदियौं पुरानो सीप सिकेर के गर्ने ? गाउँमा कुनै रोजगारी छैन । काम खोज्न विदेशिन बाध्य भएका छौं ।”
बैतडीका खोलदेली निर्माण गर्ने केही बुढापाका मिस्त्री औंलामा गन्न सकिने अवस्था रहेको छ । सीप पुस्तान्तरण हुन नसक्दा मौलिक घरको खोलदेली हराउन थालेको सामाजिक अगुवा साहित्यकार कर्णदयाल सोराडीले बताउनुभयो ।
उहाँले भन्नुभयो,“ मौलिक सीपको जगेर्ना गर्न स्थानीय तहको सरकारको ध्यान पुग्न सकेको छैन । सांस्कृतिक विविधता भएको देशमा सुदूरपश्चिमका मौलिक घरको छुट्टै पहिचान भए पनि स्थानीय तहका सरकारका आफ्नै कार्यालय मौलिक छैनन् । यसरी खोलदेलीको सीप कसरी जोगाउन सक्छन् ?”
उहाँले, दलित समुदायसँग भएका कला, संस्कृति र सीप जोगाउन स्थानीय तहको सरकारले कुनै लगानी नगरेका कारण नयाँ पिंढी पेशाबाट पलायन भएको बताउनुभयो ।
मौलिक घरको खोलदेली, मिन्दरको देथलो, कालोखाम बनाउने सीप दलित समुदायसँग भए पनि सीप जोगाउने वातावण र लगानी नभएको सामाजिक अगुवाले बताएका छन् । दलित समुदायसँग भएका भडाहा, छलिया र हुड्केउली पनि लोप हुने अवस्थामा पुगेको बैतडीको संस्कृतिका जानकार मनोहर परियारले बताउनुभयो ।
प्रतिकृया दिनुहोस