• आइतबार पौष-७-२०८१

बैतडीको च्याखुराः  प्रेमको प्रतीक, बालबालिकाको साथी

पढ्न लाग्ने समय 3 मिनेट

बैतडीको प्रसिद्ध च्याखुरा

 बैतडी, फागुन १२ गते । कुनै प्रेमीले आफ्नी प्रेमिकालाई हेरे झैं शुक्लपक्षमा चन्द्रमालाई हेरिरहने उपमामा प्रयोग हुने च्याखुराको बैतडीमा बाक्लो बासस्थान मानिन्छ । च्याखुरालाई प्रेमको प्रतीक र बालबालिकाको साथी मानिन्छ । यो पंछीलाई पछिल्लो समय लोप हुँदै जान थालेपछि नेपाल सरकारले खतराको नजिक रहेको प्रजाति मानेको छ । 
बैतडीको दोगाडाकेदार गाउँपालिकाको चडेपानी क्षेत्रमा पाईने च्याखुरा सबै भन्दा प्रसिद्ध च्याखुरा मानिन्छ । दशरथ चन्द नगरपालिकाको रानीबुङ्गा, जर्ग, पाटन नगरपालिकाको खोड्पे क्षेत्र र सिगास गाउँपालिकाको बिन्द्रावन, जुकेपानी, बेसरा च्याखुराको उपयुक्त बासस्थान मानिन्छ । अहिले च्याखुराको बासस्थान मानिएका ठाउँमै च्याखुरा भेटिन छोडेको छ । च्याखुरा उच्च पहाडी र हिमाली क्षेत्रमा पाइने चराको एक प्रजाति हो । त्रित्राभन्दा ठूलो र कालिजभन्दा सानो, रातो चुच्चो हुने च्याखुरा कुखुराको भाले झैं लड्न प्रसिद्ध मानिन्छ । लडाकु मानिने च्याखुरालाई प्रेमको प्रतीक पनि मान्ने गरिन्छ ।
पूर्वी नेपालको तुलनामा पश्चिम नेपालमा यसको सङ्ख्या बढी थियो । नेपालमा सबैभन्दा पहिला सन् १७९३ मा क्रिकप्याट्रिकले यो प्रजातिको अभिलेख गरेको तथ्याङ्क छ ।  कुनै बेला काठमाडौँ उपत्यकाको वरिपरिसमेत भेटिने यो प्रजाति पछिल्लो समय नेपालभर घट्दै गएको     छ ।
च्याखुरालाई ठाउँ र स्थान अनुसार च्याखुरा, चाखुरो, चकोर वा चुकर पनि भन्ने  गरिन्छ ।  च्याखुरा समुद्री सतहबाट एकहजार पाँचसय मिटरदेखि दुई हजार पाँचसय मिटरको उचाइसम्म पाइने गरेको छ । यो चराले ओखर, बदाम, पिठो, धान र पिठोभित्र मिसाएको घिउ खान असाध्यै मन पराउँछ । घरमा पालिएको चाखुरालाई यस्ता खानेकुरा दिने गरिन्छ । वनमा भएका चाखुराहरूले पनि सकेसम्म यस्तै खालको खानाको खोजी गर्ने गर्छन् ।
च्याखुरा जङ्गलमा पाइने प्रजातिको चरा भए पनि यसलाई घरमा ल्याएर पाल्ने चलन रहिआएको छ । पहिले धेरैजसोले यो चराको भालेलाई पाल्ने गरेको भए पनि पछिल्लो समयमा यो चरा पाल्ने चलनसमेत हराउँदै गएको छ ।
नेपाल एकीकरण अघि स्थानीय राजारजौटा र खानदानी घरका मानिसले च्याखुरा पाल्ने गरेको उद्योग वाणिज्य संघ बैतडीका उपाध्यक्ष खिमानन्द भट्टले बताउनुभयो । 


च्याखुरा लडाएर प्रतियोगिता सञ्चालन हुने गरेको स्मरण गर्दै उहाँले च्याखुरा हराउन थालेपछि बैतडीमा च्याखुरा प्रतियोगिता हुन छोडेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “बैतडीको च्याखुरा निकै चलाख र लडाकुु स्वभावको चरा भएकोले यसलाई घरमा ल्याएर पाल्ने चलन थियो । अहिले च्याखुरा देख्नै मुश्किल छ । ”
च्याखुरा पहाडका कडा चट्टानमा बस्न मन पराउँने चरा हो । पछिल्लोसमय जलवायु परिवर्त र च्याखुराको बासस्थान रहेका पहाडमा डोजरले सडक निर्माण गर्दा पहाड हल्लिन थालेपछि च्याखुराको बासस्थान संकटमा परेको डिभिजन वन कार्यालय बैतडीले बताएको छ । 
च्याखुराको भाले र पोथीको रङ्ग फरक रहेको पाइन्छ । भाले च्याखुराकोे पञ्जा हुन्छ भने पोथी च्याखुराको पञ्जा हुँदैन् । भाले च्याखुराको घाँटीमा पोते आकारको गाढा रंग हुन्छ भने पोथीको फिक्का रङ्ग हुन्छ । पोथी च्याखुरा घरमा ल्याएर पाल्ने चलन छैन । पोथी च्याखुराले घरमा फुल पारे अपशकुन मान्ने चलन रहेको बुढापाकाहरुको भनाई रहेको छ । 
च्याखुरो मानव र प्रकृतिवीचको सम्बन्ध दर्शाउने चराका रुपमा समेत मानिने गरेको नागरिक समाज बैतडीका सचिव करन दयाल सोराडीले बताउनुभयो । वनबाट ल्याएको च्याखुरो एकदुई दिनमै मानिससँग घुलमिल हुन्छ, त्यसैले च्याखुरा र मानवबीचको सम्बन्ध निकट देखिएकोले च्याखुरा संरक्षण गर्न सरोकारवाला निकाय जागरुक बन्नुपर्ने सोराडीले बताउनुभयो । विहानी र साँझको बेलामा च्याखुरी–च्याखुरी गर्दै बास्ने गर्छ । बिहान र साँझको समयमा सुनिने च्याखुराको आवाज अचेल सुनिन छोडेको दशरथचन्द नगरपालिका–२, का रमेश बोहराले बताउनुभयो । 
उहाँले भन्नुभयो, “च्याखुरा बैतडीको चिनारी हो । च्याखुरा के कारणले हराउँदै गएको छ ? यो विषयमा चरा विज्ञहरुले विस्तृत खोज अनुसन्धान गर्नुपर्ने देखिएको छ । ”


  
 

प्रतिकृया दिनुहोस

Related News

ALL