• सोमबार पौष-८-२०८१

देवलहाटमा प्राचीन गौरा, रुखका पात बेरेर लाखे नृत्य 

पढ्न लाग्ने समय 2 मिनेट

बैतडी, भदौ ७ गते । बैतडीको पञ्चदेवलमा शरीरभरि रुखका पात बेरेर लाखे नृत्यसहित प्राचीन गौरा पर्व मनाईएको छ । 
बैतडी सदरमुकाम नजिकै देवलहाट स्थित पञ्चदेवल मन्दिरमा गौरामा मात्रै लख्या (लाखे) नाच नाचिन्छ । पुरातात्त्विक विभागले देवलको संरक्षण गर्दै आएकोछ । पञ्चदेवल हुलाक टिकमासमेत अङ्कित छ । 


शदरथचन्द नगरपालिका–४, देवलहाटमा रहेको पञ्चदेवलमा हरेक वर्ष मनाईने गौरा पर्वका दिन मुख्य आकर्षणका रुपमा लाखे नाच रहने गरेको छ । लाखे नाच हेर्ने यहाँ भारतबाटसमेत दर्शनार्थी आउने गरेका छन् ।  
स्थानीय भट्ट  र मार्कण्ड जातिका पाँच वा सात जनाले शरीरमा लुगा नलगाई पवित्र रुख विरुवाका पातले शरीर ढाकेर हातमा त्रिशूल समातेर लाखे नाच नाच्दै गौरा मनाउने चलन रहेको छ ।  


स्थानीय भट्ट  र मार्कण्ड जातिका मानिसलाई लाखे नाच नाच्ने जिम्मेवारी हुन्छ । लाखे नाच नाच्न मन्दिरबाट एकसय मिटर दूरीमा रहेको सुकनाली कुवामा स्नान गरि शरीरमा तरुलका लहरा, केराको पात अन्य आयुर्वेदिक लहरा र पात प्रयोग गरिन्छ ।  
लाखे नृत्यमा सहभागी हुनेले कमेरो, रातो माटो र खरानीको टिका लगाउने चलन रहेको स्थानीय जानकार इश्वरीदत्त भट्टले बताउनुभयो । लाखे नृत्यमा शिवको भजन गाईने उहाँले बताउनुभयो ।  


पाण्डवकालीन समयमा निर्माण भएको विश्वास गरिदैं आएको पञ्चदेवलमा मात्रै यस्तो लाखे नाच रहेको संस्कृतिका जानकार उद्धव मार्कण्डले बताउनुभयो । उहाँले व्रतालु महिलाले बिरुडाको प्रयोग गरि पार्वतीको पूजा गर्दा पूरुषहरुले शिवको आराधना गर्दै लाखे नाच नाच्ने परम्परा रहेको उहाँले बताउनुभयो । 
शिखर वास्तुशैलीमा सुर्किको प्रयोग गरि निर्माण गरिएका सात वटा देवल रहेको स्थानलाई पञ्चदेवल नामले प्रसिद्ध छ । पुरातात्त्विक विभागले पञ्चदेवलको जिर्णद्धार गर्दै आईरहेको छ । पञ्चदेवलमा प्राचीनकालका ढाल , तरवार र सुनचाँदीका भाडाँवर्तन रहेका छन् । 

सद्भावका लागि पञ्चपरेवली गौरा
पञ्चदेवलमा मनाईने गौराको नाम नै पञ्चपरेवली (पाँच भन्दा बढी परिवार) का नामले मनाईदै आएको छ । 
मार्कण्ड जातीका भण्डारे र भट्ट जाती पूजारी रहने परम्परा अनुसार चन्द, भण्डारी, ठगुन्ना, खत्री, बोहरा,  बोकटी, तिरुवा र सार्की जातिका मानिस मिलेर गौरा मनाउने परम्परा रहेको स्थानीय संस्कृतिका जानकार इश्वरीदत्त भट्टले बताउनुभयो । 

तस्बिरः मोहितकुमार भण्डारी 

प्रतिकृया दिनुहोस

Related News

ALL