• आइतबार पौष-७-२०८१

कागलाई सेलरोटी दिएर नरहरी मनाइँदै (भिडिओ)

पढ्न लाग्ने समय 2 मिनेट

बैतडी, माघ १ गते । बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लाका कागलाई सेलरोटी र मानिसले कन्दमुल खाएर मनाईने मौलिक पर्व नरहरी ( माघे सङ्क्रान्ति) पर्वको रौनक छाएको छ ।
नरहरिमा घर परिवारका सदस्यले तरुल, सखरखण्ड जस्ता कन्दमुल उसिनेर खाने परम्परा छ भने कागलाई सेलरोटी दिने परम्परा रहेको छ । नरहरिका दिन परम्परागत कोलमा उखु पेलेर गुडमा तिल मिसाएर ओखलमा कुटेर खाने चलनसमेत रहेको छ । गुड र तिलले शरीर न्यानो पार्ने भएकाले कन्दमुलसँगै गुडको सेवन गर्ने चलन रहेको छ । 
माघ १ गते बिहानै उठेर नदी, तलउ र परम्परागत धारा÷कुवाँमा स्नाथ गरेर बालबालिकाले कागलाई सेलरोटी दिने चलन रहेको छ । घरको धुरीमा सेलरोटी राखेर “का...कौवा का... का... मेरो सेलरोटी खा... ” भन्दै बालबालिकाले कागलाई बोलाउने चलन रहेको छ । 
कागले सेल रोटी खाएर अघाएपछि रोटी लुकाउने गर्दछ । बैतडीमा कागले लुकाएको रोटी खोजेर गाईलाई दिने चलनसमेत रहेको छ । कागले लुकाएको रोटी गाईलाई खुवाएमा माले माच्छो जन्मिन्छ भने जनविस्वास रहेको छ ।     
कागले शुभ÷अशुभ सबै खालका समाचार ल्याउने भएकोले माघे सङ्क्रान्तिका दिन कागलाई सेलरोटी दिने चलन रहेको संस्कृत विद् चन्द्रमोहन तिवारीले बताउनुभयो । माघ महिनालाई महात्म्य महिनाका रुपमा लिईने भएकाले यो महिनाभरि शुद्ध शाकाहारी भोजनमा कन्दमुल ग्रहण गर्ने, तिर्थाटन गर्ने र दान दिने चलन रहेको तिवारीले बताउनुभयो । 
ज्योतिष शास्त्रअनुसार सौर मासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई मकर संक्रान्ति (माघे संक्रान्ति) र सुदूर पहाडमा नरहरी पर्वका रुपमा मनाउने चलन रहेको उहाँले बताउनुभयो । 
सूर्यको उदयविन्दु दक्षिणतर्फबाट उत्तरतर्फ सर्ने भएकाले यस दिनबाट उत्तरायण सुरु हुन्छ भन्ने मान्यता रहेको छ । उत्तरायणको अवधिमा तुलनात्मक रूपमा दिन लामा हुने र तापक्रममा वृद्धि भई गर्मी मौसमको प्रारम्भ हुने जन विश्वास रहेको छ । 
माघ १ गते नरहरी पर्वको पवित्र दिन विवाह गर्ने चलनसमेत रहेको छ । माघ महिनामा पराईघर गएका छोरीचेलीलाई माईती घर बोलाएर वा छोरीकै घरमा गएर बटुक, माणा र तरुल दिने परम्परा रहेको    छ ।  


 

प्रतिकृया दिनुहोस

Related News

ALL