बैतडीमा विकासको बहसः कृषि मलदेखि क्यान्सर निको पार्ने औषधी उद्योगको संभावना
पढ्न लाग्ने समय 2 मिनेट
बैतडी, फागुन ७ गते । बैतडीको विकास र सम्वृद्धिका आधारका विषयमा शनिबार सरोकारवालाबीच अन्तरक्रिया गरिएको छ । कार्यक्रममा बैतडीको फस्फोरस खानीदेखि फलामखानी, चुनढुङ्गा, क्यान्सर रोग निको पार्ने बहुमुल्य जडिबुटी उद्योगको संभावना भए पनि उद्योग सञ्चालन गर्न राज्यबाट सम्बोधन नभएको सरोकारवालाले बताएका छन् ।
बैतडीको दोगडाकेदार गाउँपालिकामा रहेको कृषि मल बन्ने फस्फोरस खानी, सिगास–१,मा फलाम खानी, पाटनमा गन्धकको खानी, सुर्नयाको धर्मधरमा चुनढुङ्गा खानी, पुरचौडीमा फलामखानी, शिवनाथमा जाँतो,सिलौटा र खल बन्ने ढुङ्गाको खानी, दशरथचन्द नगरपालिकाको मौरा भीरमा शिलाजितको खानी रहेको उद्योग वाणिज्य सङ्घ बैतडीका उपाध्यक्ष खिमानन्द भट्टले बताउनुभयो ।
बैतडीमा थुपै संभावना भए पनि उद्योग सञ्चालनका लागि राज्यले वातावरण सिर्जना गर्न नसक्दा बैतडीबाट जनङ्ख्या पलायन भईरहेको उहाँले बताउनुभयो ।
जिल्ला समन्वय समिति बैतडीको समन्वय तथा पश्चिम टुडे दैनिक धनगढीको आयोजनामा विकास सम्बन्धी अन्तरक्रियामा नागरिक समाज, उद्योग वाणिज्य सङ्घ, स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल, वन र पर्यटनको क्षेत्रमा काम गर्ने अगुवा र स्थानीय सञ्चारकर्मीको सहभागितामा रहेको थियो ।
स्थानीय तहको सरकारले साना कुटिर उद्योग, कृृषि र जडीबुटीमा आधारित लघु उद्योग सञ्चालन गर्न सक्ने भए पनि त्यो विषयमा कुनै योजना बनाउन नसकेको सञ्चारकर्मी भगिरथ अवस्थीले बताउनुभयो । उहाँले बैतडीमा १३ वर्षसम्म पत्रकारिता गर्दा संभावनाको उजागर गरे पनि जतातै नेताका डोजरले बाटो खन्दै पानीका मुहान सुकाएको बताउनुभयो ।
नागरिक समाज बैतडीका सचिव प्रकाश चन्दले शिक्षा,स्वास्थ्य, खानेपानी र रोजगारी जस्ता आधारभूत कुरा नहुँदा बैतडीबाट जनसङ्ख्या पलायन भईरहेको बताउनुभयो । उहाँले स्थानीय तहमा आउने बजेट विकास र सम्वृसद्धिका क्षेत्रमा लगानी हुन नसकेको बताउनुभयो ।
जिल्ला अस्ताल बैतडीका डा.सुनिल जैसवालले स्थानीय तहबाट पाउनु पर्ने आधारभूत स्वास्थ्य सेवान नपाउँदा सर्वसाधारण बिरामी एक दिन यात्रा गरेर आउने गरेको बताउनुभयो । बैतडी अस्पतालमा अहिले करारका चिकित्सकले सेवा दिदैं आईरहेकाले अस्थायी उपचार सेवा चलिरहेको बताउनुभयो ।
स्थानीय तहका स्वास्थ्य संस्थाको अनुगमन गर्न जाँदा निःशुल्क पाईने औषधिसमेत नभेटिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो । औषधि खरिद गर्न सरकारले बैतडीका प्रत्येक स्थानीय तहलाई वार्षिक २० लाख रुपियाँ दिदैं आएको उहाँले बताउनुभयो ।
स्थानीय रेडियो सञ्चालक नरेन्द्रप्रसाद भट्टले बैतडीको झुलाघाटमा माटरेवल पुल मात्रै बन्ने हो भने पनि बैतडीका विकासको ढोका खुल्ने बताउनुभयो । उहाँले भारतसँज सीमा जोडिएको बैतडीमा उद्योग सञ्चालन गर्न वा यहाँको कच्चापदार्थ सिधैं भारतलाई बेच्न सकिने संभावना रहेको बताउनुभयो ।
अन्तरक्रिया कार्यक्रममा जिल्ला समन्वय समिति बैतडीका प्रमुख खगेन्द्रसिंह धामीले स्थानीय तह र प्रदेश सरकार सङ्घीयताको मर्मअनुसार नचलेको आरोप लगाउनुभयो । उहाँले विकासका नाममा कार्यकर्तामुखी बजेट बनाएर खुलेआम भ्रष्टाचार हुने गरेको भए पनि जिल्ला समन्वय समितिसँग अधिकार नहुँदा बेथिपत रोक्न नसकेको बताउनुभयो ।
उहाँले २०५१ सालमा तत्कालीन जिल्ला विकास समितिको जिल्ला सभाले चमेलिया नदीको बालुवामा सुन र युरेनियम बगेर आउने भएकाले बालुवा उत्खनन रोक्दै थप अनुसन्धानका लागि सरकरलाई लेखिपठाएको भए पनि अहिलेसम्म कुनै सुनुवाई नभएको स्मरण गराउनुभयो ।
प्रतिकृया दिनुहोस