गाउँगाउँमा सडकः भाडा तिर्न नसक्दा पैदल हिँड्दै सर्वसाधारण
पढ्न लाग्ने समय 3 मिनेट
बैतडी । बैतडी सदुमुकामको दशरथचन्द नगरपालिका र पञ्चेश्वर गाउँपालिका एक आपसमा जोडिएका छिमेकी पालिका हुन् तर, पञ्चेश्वरबाट दशरथचन्द नगरपालिका पुग्न नौ सय रुपियाँ गाडी भाडा लाग्ने गरेको छ । गाडी भाडा तिर्न नसक्नेहरु पैदल हिँड्न बाध्य भएका छन् ।
पञ्चेश्वर गाउँपालि–६ र दशरथचन्द नगपलिकको ११ नम्बर वडा एक आपसमा जोडिएका छन् । तर, छिमेकी पालिका पुग्न एकतर्फी नौ सय रुपियाँ गाडी भाडा तिर्नु पर्दा पैदल हिँडेर सदसमुकाम आएको पञ्चेश्वरका भाष्करदत्त भट्टले बताउनुभयो ।
कृषि ज्ञान केन्द्रबाट ओखरका बोट लैजान भनेर बैतडी पुग्नु भएका भट्टले आउँदा जादा एक हजार आठसय गाडी भाडा तिर्ने पैसा नहुँदा पैदल हिँडेर सदरमुकाम पुगेको बताउनुभयो । काँधमा ओरखका बोटको भारी बोकेर सदरमुकामबो शाहीलेक बजारमा भेटिनु भएका भट्टले सामान्य किसानले गाडी चढ्न नसक्ने पीडा सुनाउनुभयो ।
२०७४ अघिसम्म पञ्चेश्वर गाउँपालिकासम्म सडक पुगेको थिएन । स्थानीय सरकारले सडकलाई प्राथमिकता दिएर पञ्चेश्वरका सबै वडामा सडक बिस्तार गरे पनि गरिबका लागि भने हर्ष न विस्मात भएको छ । बिरामी पर्दासमेत गाउँपालिकाको एम्बुलेन्स नहुँदा बिरामीले २० देखि ३० हजार रुपियाँ तिरेर गाडी बुकिङ गर्नु पर्ने समस्या रहेको छ । नेताका डोजरले खनेका सडकमा गाडी पनि अधिकांश नेता र हुनेखानेकै भएकाले स्थानीय सरकार गाडी भाडा नियमनका विषयमा मौन बस्ने गरेको पाईएको छ ।
नियमित चल्ने गाडी भाडा नियमन नहुँदा बैतडीको तल्लो स्वराड क्षेत्रका पचेश्वर गाउँपालिका, शिवनाथ गाउँपालिका र मेलौली नगरपालिकाका सर्वसाधारण गाडी भाडा तिर्न नसक्दा फेरि पैदल हिँड्न बाध्य भएका छन् ।
च्वाँगढको सिगास गाउँपालिका र मध्य बैतडीको सुर्नया गाउँपालिकाका पुग्न पनि सर्वसाधारणले चर्को भाडा तिर्दै आईरहेका छन् ।
बैतडीबाट प्रदेश राजधानी पुग्न २५० किलोमिटरको नौसय देखि एक हजार रुपियाँ बस भाडा कायम भएका बेला जिल्ला भित्रकै १०३ किलोमिटर दूरी रहेको पञ्चेश्वरको गाडी भाडा धनगढी बराबरको तिर्नु परेको सर्वसाधारणको गुनासो छ ।
गाउँपालिकामा सडक पुगेको खुसीयाली गरिबका लागि दुःखमा परिणत भएको नागरिक समाज बैतडीका प्रकाश चन्दले बताउनउनुभयो ।
पाटन–पञ्चेश्वर सडकखण्ड आधा कालोपत्रे भईसक्दा पनि स्थानीय जिपले यात्रुबाट बढी पैसा लिने गरेको गुनासो आएकाले भाडादर कायम गर्ने विषयमा पहल चाल्ने ट्राफिक प्रहरी कार्यालय बैतडीका इन्चार्ज दशरथ नाथले बताउनुभयो ।
उहाँले भन्नुभयो,“ बढी भाडा लिएको उजुरी आए कारबाही हुन्छ । पाटन–पञ्चेश्वर सडक कच्ची भएको जिप व्यवसायिले बताउने गरेका छन् तर, आधा भनद बढी सडक त कालोपत्रे भईसक्दा पनि भाडा दर भने कच्चीकै लिनु भएन । यो विषयमा छलफल गर्छौ ।”
सरकाले बैतडीको पाटन–पञ्चेश्वर ६५ मिलोमिटर सडक खण्ड कालोपत्रेसमेत गर्न सुरु गरेको छ । पाटनदेखि मेलौली नगरपालिकासम्मको ३८ किलोमिटर सडक एक वर्षअघि नै कालोपत्रे भैसकेको पूर्वाधार विकास कार्यालय बैतडीले जानकारी दिएको छ । चालु आर्थिक वर्षमा मेलौलीबाट शिवनाथ गाउँपालिकाको सुल्लेखानसम्मको ११ किलोमिटरसडक पनि कालोपत्रे भईरहेको प्राविधिक नरेश भुलले जानकारी दिनुभयो । शिवनाथ गाउँपालिकाको सुल्लेखानबाट पञ्चेश्वर गाउँपालिका–१, पुग्न १६ किलोमिटर मात्रै कच्ची सकड रहेको छ । उक्त कच्ची सडक पनि आउँदो वर्ष कालोपत्रेका लागि बहुवर्षीय ठेक्का आह्वान भएको छ ।
प्रतिकृया दिनुहोस