बाघगोठका गोरुको नाईटो फुल्न थाल्यो
पालिकामा न औषधी भेटियो, न त कर्माचारी
पढ्न लाग्ने समय 1 मिनेट
बैतडी, चैत ८ गते । बैतडीको मेलौली नगरपालिका–३, बाघगोठमा गोरुको नाईटो फुलेर झोक्राउन थालेका छन् । हप्ता दिन अघि मेलौलीसँग जोडिएको छिमेकी पालिका शिवनाथ गाउँपालिकाका पशु चौपायामा लुम्पी भाइरल फैलिएको थियो ।
शिवनाथ–२, जोलापानी बस्कोटी बस्तीका गाई, गोरुमा ‘लुम्पी स्किन डिजिज भाईरल’ रोग फैलिएको केही दिन नबित्दै मेलौलीको बाघगोठमा गोरुको नाईटो फुल्ने रोगले पशु चौपाया झोक्राउन थालेका हुन् ।
‘चार दिनदेखि मेरो गोरु नाईटो फुलेर बिरामी परेको छ,’ स्थानीय वीरेन्द्र चन्दले भन्नुभयो,‘ पालिकाको पशु शाखामा न औषधी भेटियो, न त कर्माचारी नै । भेटनरी अस्प्ताल पाटनमा फोन गर्दा पशु चिकित्सक आउने आस्वासन मिलेको छ । गोरुको समयमै उपचार नभए बाच्ने ठेगान छैन ।’
चन्दका अनुसार मेलौली नगरपालिका–३, बाघगोठ लगायत सील गाउँमा पनि पशु चौपायाको नाईटो फुल्ने रोग देखिएको छ ।
गोरुको नाईटो फुलेर गाईको कल्चौंडो जत्रो हुन थालेपछि स्थानीय किसान चिन्तित बनेका छन् । कृषिमा निर्भर यहाँका किसानको खेत जोत्ने परम्परागत मध्यम गोरु नै हो । एक हल गोरुमो मूल्य अहिले ५० हजार भन्दा माथि भएकाले खेत जोत्ने गोरु मरे सामान्य किसानले गोरु किनेर खेत जोत्न सक्ने अवस्था नभएको स्थानीयले बताएका छन् ।
बैतडीको तल्लेस्वराड क्षेत्रका पुशमा अनौठो रोग फैलिएको बताउँदै रोग नियन्त्रण गर्ने भ्याक्सिन नभएको पशु सेवा विज्ञ केन्द्र पाटन बैतडीका डा.विशाल पाठकले बताउनुभयो ।
डाक्टर पाठकले लुम्पी भाईरल रोग लगायतका अन्य रोगले रोग फैलिरहेकाले रोग नियन्त्रण गर्न किसानले भुसुना, किरा र लामखुट्टे नियन्त्रणका लागि गोठको सरसफाई, भकारो (पर्सो) व्यवस्थापन र चरन क्षेत्रको ख्याल गर्नु पर्ने बताउनुभयो ।
प्रतिकृया दिनुहोस