पाटनले भारतमा काम गर्नेको निःशुल्क बीमा थाल्यो
पाटन–८, मा १८१ जनाको निःशुल्क दुर्घटना बीमा
पढ्न लाग्ने समय 3 मिनेट
बैतडी, फागुन १३ गते । बैतडीको पाटन नगरपालिकाले स्थानीय साझेदार संस्थासँग मिलेर भारतमा काम गर्ने आप्रवासी कामदारको निःशुल्क दुर्घटना बीमा गर्न थालेको छ । पालिकाका १० वटै वडामा करिब एकहजार पाँचसय जनाको बीमा गर्ने लक्ष राखिएको छ ।
पाटन नगरपालिका र स्थानीय साझेदार संस्था रुडेस बैतडीले भारतमा काम गर्न जाने मजदुरको पाँचदेखि सात लाख रुपियाँ सम्मको निःशुल्क बीमा सुरु गरेको हो ।
विहीबारदेखि वडास्तरमै गएर आप्रवासी कामदारको बीमा गर्न नगरपालिकाले टोली नै खटाएको पाटन नगरपालिकाका निमित्त कार्यकारी प्रमुख राजेन्द्रप्रसाद भट्टले बताउनुभयो । पाटन नगरपालिका–६, मा खटिएको टोलीले भारतमा कम गर्न जाने २५० जना कामदारको निःशुल्क बीमा भरिएको छ भने शनिवार पाटन नगरपालिका–८, खोड्पेमा बीमा भर्ने काम सुरु भएको छ । पाटन–८, मा १८१ जनाको निःशुल्क दुर्घटना बीमा गरेको अध्यक्ष हरिश बिष्टले जानकारी दिनुभयो ।
पाटन नगरपालिकाले ५० प्रतिशत र रुडेस बैतडीले ५० प्रतिशत रकम जम्मा गरिदिने सर्तमा सुर्यज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आप्रवासी कामदारको दुर्घटना बीमा सुरु पाटन नगपालिकाका उप प्रमुख कमलसिंह बोहराले बताउनुभयो ।
भारतमा काम गर्न जाने मजदुरको दुर्घटनामा मृत्यु भएमा वा घाइते भएमा बीमितले उपचार खर्चदेखि मृत्युपर्यन्त परिवारका सदस्यले पाँचदेखि सात लाख रुपियाँ पाउने छन् । भारतमा काम गर्न जाने मजदुरले बीमाको रकम तिर्न सक्ने अवस्था नभएपछि अक्सफाम नेपालको सहयोगमा रुडेस बैतडीले बीमा गर्न सहयोग गरेको संस्थाका कार्यक्रम अधिकृत गोपालसिंह भाटले जानकारी दिनुभयो ।
आप्रवासी कामदारको बीमा गर्न रुडेस बैतडीले पाटन नगरपालिकालाई सहयोग गर्दै आएको उहाँले बताउनुभयो । यो वर्षदेखि दशरथचन्द नगरपालिकामा पनि बीमा कार्यक्रम लागू भएको उहाँले जानकारी दिनुभयो ।
तरकारी खेतीले भारत जानेलाई रोक्यो
आप्रवासी कामदारको बीमासँगै अक्सफाम नेपालको सहयोगमा सकेसम्म भारतजानबाट रोक्ने उद्देश्यले ग्रिन कार्यक्रम सञ्चालन भईरहेको छ । भारतमा काम गर्ने आप्रवासी कामदारको घरपरिवारलाई स्वदेशमै रोजगारी सिर्जना गरेर भारत जानबाट रोक्ने उद्देश्यले तरकारी खेतीका लागि निःशुल्क बीउ विजन,पोलिहाउस र गोठ सुधारको कार्यक्रम सञ्चालन भइरहेको ग्रिन कार्यक्रमका अधिकृत गोपालसिंह घाटले बताउनुभयो ।
नगरपालिका र संस्थाको अगुवाईमा तरकारी खेतीका लागि सहयोग पाएपछि भारत जान छाडेर स्वदेशमै तरकारी खेती सुरु गरेको पाटन नगरपालिका–८, जुकेपानीका वीरबहादुर बिष्टले बताउनुभयो ।
वीरबहादुर बिष्ट
तरकारीको बीउ लिएर कृषि प्राविधिक पोलिहाउससहित गाउँमा आएर निःशुल्क सहयोग गरेपछि एक वर्षको अवधिमा तीन लाख रुपियाँ आम्दानी गर्न सफल भएको बिष्टले बताउनुभयो । आलु, टमाटर, काउली, रायो लगायत तरकारी खेतीबाट भारतमा भन्दा बढी पैंसा आम्दानी हुँदा भारत जान छाडेको उहाँले बताउनुभयो ।
स्वदेशै रोजगारी सिर्जना मुख्य प्राथमिकता भएकाले भारत छाडेर गाउँमै तरकारी खेती गर्न चाहने परिवारलाई तरकारीखेतीका लागि सहयोग र भारत जान चाहनेका लागि दुर्घटना बीमा कार्यक्रम लागु गर्ने बैतडीको पाटन नगरपालिका पहिलो पालिका भएको उपप्रमुख कमलसिंह बोहराले बताउनुभयो ।
उहाँले भन्नुभयो,“नगरपालिकाको उद्देश्यलाई सघाउन गैर सरकरी संस्थाले बजेट र प्रविधि लिएर आएपछि काम गर्न सहज भएको छ । चिया बिस्कुट बाँडेर कोठामा कार्यक्रम गर्ने संस्था भन्दा किसानको बारीमा पुगेर का मगर्ने संस्था हामीलाई पनि चाहिएको थियो । अहिले गाउँमा तरकारी खेती र भारत जाने व्यक्तिको दुर्घटना बीमा गर्ने काम चलिरहेको छ ।”
प्रतिकृया दिनुहोस