सतबाँझमा ‘गोल्डेन डेलिसियस’ स्याउ फल्न थाल्यो
पढ्न लाग्ने समय 2 मिनेट
बैतडी, जेठ १६ गते । बैतडीको सतबाँझको चिनारीका रुपमा रहेको गोल्डेन डेलिसियस जातको स्याउका बोट पुनः फल्न थालेका छन् । छहजार मध्ये बचेका १५० बोटमा यो वर्ष लटरम्मै स्याउका दाना देखा परेका छन् ।
२०१९ सालमा २९ हेक्टर क्षेत्रफलमा छहजार स्याउका बोट लगाएर सतबाँझ बागवानी स्थापना भएको थियो । पछिल्लो एक दशक यता सतबाँझमा हिउँ पर्न छाडेपछि गोल्डेन डेलिसियस जातको स्याउका हराउँदै जान थालेको छ ।
जाडो मौसममा हिउँ पर्न छाडेपछि सतबाँझ बागवानीका नामसमेत फेरेर सतबाँझ सुख्खा फललफूल विकास केन्द्र राखिएको छ । बागवानीमा बाँकी रहेका गोल्डेन डेलिसियस जातका बोटमा यो वर्ष लटरम्मै स्याउ फलेपछि यहाँका कृषि प्राविधिक खुसी भएका छन् ।
छहजार बोट मध्ये अहिले करिब १५० जति गोल्डेन डेलिसियस स्याउका बोट बाँकी रहेको प्राविधिक अर्जुन खड्काले बताउनुभयो ।
उहाँले भन्नुभयो, “ गोल्डेन डेलिसियस हराउन थालेको थियो । यो वर्ष बोटमा स्याउ फल्दा उत्सहित भएका छौं । सतबाँझको पहिचान जोगाउन चार वर्ष अघि होचो जातका फुजी र गाला नामको स्याउका एक जार पाँचसय बोट रोपेका छौं । नयाँ प्रजातिको स्याउ नफल्दै पुरानै बोटमा फल लागेपछि हामी निकै खुसी भएका छौं ।”
कुनै बेला लटरम्म स्याउ फल्ने बैतडीको सतबाँझमा पछिल्लो समय स्याउ फल्न छोडेपछि यहाँ हिँउदे फलफूलको नर्सरी उत्पादन भईरहेको छ । नर्सरीमा ओखर, कागजी बदा, जैतुन र नास्पाति लगायतको फलफूलको नर्सरी छ ।
सिँचाइले परिवर्तन ल्यायो
हिउँ पर्न छोडेपछि मरुभूमि जस्तो सुख्खा डाँडोे बन्न पुगेको सतबाँझमा सिँचाइका लागि डिप बोरिङ्बाट पानी तानेर जमिन सिँञ्चित हुँदा स्याउका बोटमा चिस्यान पुगेको कृषि प्राविधिकले बताएका छन् । गोल्डेन डेलिसियस जातको स्याउ फल्न पर्याप्त चिस्यान आवश्यक पर्ने प्राविधिको भनाई छ ।
गोल्डेन डेलिसियस जातको स्याउ जोगाउन कार्यालयले सुक्न थालेका बोटमा पर्याप्त मल र पानीसँगै बोटको उपचार गरेपछि यो वर्ष स्याउ फलेको बताईएको छ ।
समुद्री सतहबाट २३ मिटर अग्लो डाँडामा डिप बोरिङ्बाट पानी तानेर सिँचाईका लागि पोखरी निर्माण गरिएको छ । पोखरीको पानीले सतबाँझमा रहेका ५० हजार बोटविरुवाले पानी पाएको कार्यालय प्रमुख डम्बर भाटले बताउनुभयो ।
डिप बोरिङबाट पानी पुर्याउन ४६ लाख रुपियाँको ठेक्का भएको थियो । यशियन ड्रिल कम्पनीले निर्माण गरेको बोरिङले ९० मिटर गहिराईबाट चार ईन्च मोटो पाईपमा पानी निकालेको छ ।
सुदूरपश्चिम प्रदेश सरकारको भूमि व्यववस्था तथा कृषि मन्त्रालयको पहलमा सतबाँझ सुख्खा फलफूल विकास केन्द्रमा सिँचाई सुविधा पुगेको कार्यालय भाटले बताउनुभयो ।
जलवायु परिवर्तनका कारण स्याउको उत्पादन घटेपछि अहिले यहाँ ओखर लगायतको नर्सरीलाई प्राथमिकता दिएको फलफु केन्द्रका प्राविधिक अर्जुन खड्काले बताउनुभयो ।
प्रतिकृया दिनुहोस