‘अर्गानिक’ घोगा भित्र्याउदैं बैतडीका किसान
पढ्न लाग्ने समय 2 मिनेट
बैतडी, असोज ६ गते । बैतडीमा सबै भन्दा बढी फल्ने अन्नका रुपमा रहेको बैतडीको ‘अर्गानिक’ घोगा (मकै) भित्र्याउन किसानलाई भ्याइ नभ्याइ भएको छ । बैतडीको रैथाने धौलो घोगा (सेतो जातको मकै) शुद्ध गोठेमल प्रयोग गरेर फलाईन्छ ।
जेठमा रोपेको मकै भदौ अन्तिम सातादेखि असोज पहिलो साताभित्र पाक्न थालेपछि स्थानीय किसानले परम्परागत लुटा (चाङ÷टौवा) बनाएर राख्न थालेका छन् । मकैको चाङलाई हिँउदभरि खुला राखेर घाममा सुक्न दिईन्छ ।
जिल्लाको तल्लो स्वराड क्षेत्रको मेलौली, शिवनाथ, पञ्चेश्वर, च्वाँगढको सिगास, पुरचौडी, दोगडाकेदार, सुर्नया र ग्वाल्लेक क्षेत्रका किसानलाई यति बेला मकै भित्र्याउन भ्याइ नभ्याइ भएको छ ।
मकै भाँचेर लुटो (चाङ)मा राख्न चारदेखि छ वटा घोगालाई झुप्पो बनाएर बाँध्ने गरिन्छ । यसरी तयार भएको मकै राख्न करिब १० फिटसम्म अग्लो काठ ठड्यार डोरीमा मकैको झुप्पा बेरेर लुटो (चाङ) तयार गरिने मेलौलीका किसान चिन्तामणी भट्टले बताउनुभयो । घाममा राम्रोसँग मकै सुक्ने भएकाले घरको आँगनमा लुटो बनाउने चलन रहेको उहाँले बताउनुभयो ।
हिँउदमा आवश्यकता अनुसार चाङबाट मकै निकालेर परम्परागत जाँतो र घट्टमा पिसेर मकैको रोटी खाने चलन रहेको छ । मोहीसँग खाईने मकैको रोटी बैतडीको प्रसिद्ध खाना हो । गोरस र कार्बोहाइड्रेड निकै स्वस्थकर खानामा पर्ने कृषि ज्ञान केन्द्रका कृषि प्रसार अधिकृत नरेन्द्रबहादुर चन्दले बताउनुभयो ।
बैतडीमा फल्ने मकै प्राङ्गारिक मल प्रयोग गरेर फल्ने भए पनि अर्गानिक मकैं प्रमाणित गर्न सङ्घीय कृषि मन्त्रालय मातहतको एकाइले मात्र गर्न सक्ने कृषि प्रसार अधिकृत नरेन्द्रबहादुर चन्दले बताउनुभयो ।
बैतडीको मकैलाई अर्गानिक प्रमाणित गर्न किसानले माग गर्दै आए पनि सो सम्बन्धी जिल्लामा कुनै कार्यक्रम तोकिएा नआएको कृषि ज्ञानकेन्द्र बैतडीले जनाएको छ ।
आधा खाद्यान्न मकैबाट पूर्ति
बैतडीमा वार्षिक आवश्य पर्ने कुल खाद्यान्नको करिब आधा हिस्सा जिल्लामै उत्पादन भएको मकैले धान्ने गरेको छ । बैतडीमा वार्षिक ४९ हजार १२४ मेट्रिक टन खाद्यान्न आवश्यक पर्ने गरेको छ ।
जिल्लामा १२ हजार दुईसय हेक्टर क्षेत्रफलमा २१ हजार ९६० मेट्रिक टन खाद्यान्न उत्पादन हुने गरेको कृषि ज्ञानकेन्द्र बैतडीका प्रमुख घनश्यम चौधरीले बताउनुभयो ।
कृषि ज्ञानकेन्द्र बैतडीका आ.ब. २०७९÷०८०को तथ्याङ्क अनुसार नौ हजार हेक्टरमा हुने धान खेतीबाट वार्षिक १६ हजार मेट्रिक टन धान, १५ हजार ४०० हेक्टरमा हुने गहुँ खेतीबाट १८ हजार मेट्रिक टन गहुँ उत्पादन हुने गरको छ ।
बैतडीको दुई लाख ४४ हजार ४०० जनसंख्यालाई वार्षिक ४९ हजार १२४ मेट्रिक टन खाद्यान्न आवश्यक पर्ने गरेको छ । जिल्लामा गहुँ, धान र मकै गरि ३६ हजार ३०८ मेट्रिक टन खाद्यान्न उत्पादन हुने गरेको छ । अपुग हुने १२ हजार ८१६ मेट्रिक टन खाद्यान्न जिल्ल बाहिरबाट आयात हुने गरेको छ ।
प्रतिकृया दिनुहोस