बजार नपाउँदा दुई सय क्विन्टल बन्दा बारीमै कुहियो
पढ्न लाग्ने समय 2 मिनेट
बैतडी, साउन २६ गते । बजारीकरण र ढुवानीको समस्या हुँदा ४० रोपनी क्षेत्रफलमा लगाएको करिब दुईसय क्विण्टल बन्दा बारीमै कुहिएको छ ।
बैतडीको पाटन नगरपालिका–८, खोपड्पेका कृष्ण बिष्ट र कलावति भण्डारी बिष्टले ४० रोपनी जमिनमा तरकरी खेती गर्दै आउनु भएको छ ।
पेशाले शिक्षकसमेत रहनु भएका बिष्ट दम्पती मध्ये कृष्ण स्थानीय ज्ञानेश्वर माध्यमिक विद्यालयमा विज्ञान विषय पढाउनुहुन्छ भने कलावति बिष्ट स्थानीय विद्यालयमा बाल विकास कक्षामा पढाउनु हुन्छ ।
शिक्षण पेशमा आबद्ध रहनु भएका दुबै श्रीमान श्रीमतीले शिक्षण पेशाबाट बचेको समय सदुपयोग गर्दै बाँझो जमिन स्याहार्दै तरकारी खेती गर्दै आउनु भएको छ । बन्दाले बजार नपाउँदा चार लाख घाटा भएको कृष्ण बिष्टले बताउनुभयो । आलुबाट भने राम्रो फाईदा हुने गरेको उहाँले बताउनुभयो । आलु उहाँले ४० रोपनीमा बन्दा खेती गर्नुभएको थियो ।
बजारमा १० रुपियाँ किलोका दरलेसमेत बन्दा बिक्रि नहुँदा बारीमा फलेको बन्दा जङ्गली बदेल, दुम्सी र बाँदर आएर खान थालेका छन् । सडक नहुँदा बन्दा ढुवानी गर्नसमेत समस्या हुने गरेको बिष्टले बताउनुभयो । मजदुर लगाएर बोकेर बजारमा ल्याए पनि १० रुपियाँ किलो पनि बिक्रि नभएपछि दुई सय क्विन्टल बन्दा बारीमै छाडेको उहाँले बताउनुभयो ।
बैतडीको खोड्पे क्षेत्र आलु उत्पादनका लागि प्रसिद्ध ठाउँ मानिन्छ । यहाँको मुख्य नगदे वालीका रुपमा आलु खेती हुने गरेको छ । बन्दा खेतीबाट पनि राम्रो आम्दानी हुने गरेकोमा यो वर्ष बन्दाले मूल्य नपाउँदा समस्या भएको बिष्ट दम्पतीले पीडा सुनाउनुभयो ।
जमिन बाँझो राख्नुभन्दा केही उद्यम गर्नुपर्छ भन्ने सोच पलाए पनि स्थानीय सरकारले कुनै सहयोग नगरेको उहाँको गुनासो छ ।
न्यू एसके कृषि पशु बहुउद्देशीय फार्म दर्ता गरेर राज्य र स्थानीय तहलाई कर बुझाउँदै आए पनि स्थानीइ सरकारले तरकारी ढुवानी गर्न दुइए किलोमिट।र सडक खन्न नसकेको बिष्टले बताउनुभयो । खोड्पे क्षेत्रबाट वार्षिक २३ लाख रुपियाँ भन्दा बढीको बन्दा बिक्री हुने गरेकोमा यो वर्ष बन्दाले बजार नपाउँदा किसानलाई घाटा भएको स्थानीय किसान गोपालसिंह बिष्टले बताउनुभयो ।
बन्दा खेती गर्दै आएका जिल्लाको दशरथचन्द नगरपालिका लगायतका क्षेत्रमा पनि बन्दाले बजार नपाउँदा बारीमै कुहिएको छ ।
बैतडीमा एक हजार एसय हेक्टर जमीनमा आलु बाहेक बन्दासहित अन्य तरकारी हुने गरेको छ । जिल्लाभरी एक वर्षमा १३ हजार नौ सय मेट्रिक टन तरकारी उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र बैतडीका सूचना अधिकारी मिलन कँडेलले बताउनुभयो । यस्तै आठ सय ५० हेक्टर जमीनमा आलुखेती गरिने र एक वर्षमाआठ हजार नौ सय मेट्रिक टन आलु उत्पादन हुने गरेको सूचना अधिकारी कँडेलले बताउनुभयो ।
प्रतिकृया दिनुहोस