• आइतबार पौष-७-२०८१

डिलासैनी सरकार ! ‘करारका जागिरे सरासर घर जानुपर्ने हो ?’

पढ्न लाग्ने समय 5 मिनेट

सम्पूर्ण मानवलाई मेरो नमस्कार छ ! 
मेरो नाम हिरा दमाई हो । म डिलासैनी गाउँपालिकामा सात वर्षसम्म करारको कृषि प्राविधिक भएर काम गरेको मानिस हुँ । मेरो घर बैतडीको डिलासैनी गाउँपालिकामै हो । म डिलासैलैनीको सामान्य दलित परिवारमा जन्मेको हुँ । मेरो घरमा म बाहेक अरु पढेलेखका कोही छैनन् । भारतमा ज्याला मजदुरी गरेर मेरा बुवाले मलाई स्कुल पढाउनुभयो । अर्काको गोठमा लुगा सिलाएर बसेको मेरो परिवारलाई डिलासैनीबाट मालिकले हटाएपछि मजदुरी गर्न बुवा भारत जानुभयो ।  बुवाले मलाई मजदुरी गरेरै पढाउनुभयो । मैले २०६८ सालमा एसएलसी पास गरे । त्यसपछि मैले कञ्चनुरको कृष्णपुर स्थित कृष्णमाविबाट कृषि जेटीए पढे । पढाइ पूरा गरेर २०७१ सालमा लोकसेवा आयोगको कार्यलय महेन्द्रनगरबाट कृषि बागवानी विषयमा लिखितमा नाम निकाले । अन्तर्वातामा सफल हुन सकिन । घरको चरम आर्थिक अभावका कारण अर्को चोटी लोक सेवा दिन पाईन र म पनि बुवासँगै भारत जान बाध्य भए ।  


२०७३ सालमा नेपाल सरकारको कृषि विभागले “एक गाउँ, एक कृषि तथा पशु प्राविधिक” कार्यक्रम सञ्चालन गरेर कृषि विकास रणनीति (विसंं.२०७२/२०९२)  अन्तर्गत देशभरि ३ हजार २२ जना कृषि तथा पशु प्राविधिकको करार पदपूर्ति गर्न सूचना आह्वान गरियो । यो कुरा थाहा पाएपछि म भारतबाट घर फर्के । बैतडी जिल्लाका लागि १० जना कृषि जेटिएको कोटा थियो । मैले प्रथम चरण २०७२ र  द्वीतीय चरण २०७३ को परिक्षामा सहभागी भए । १० जनाको पदका लागि ११३ जनाले आवेदन दिएका थिए । प्रतिस्पर्धामा मैले एक सिटको दलित कोटाबाट लोकसेवाको मापदंड अनुसार परीक्षामा उत्तीर्ण भए । मलाई ततकालीन जिल्ला कृषि विकास कार्यलयले२०७३ साल फागुन १५ गते खरदार सरहको सेवा सुविधा दिने गरी नियुक्तिपत्र दिएर साविकको डिलासैनी गाबिस हेर्ने गरी खटायो । 


२०७३ देखि २०७६ सम्म कृषि विकास कार्यालयले खाटाएको काममा खुसी भएर पूरा गरे । म लगायत त्यतिबेला करारमा पास भएका १० जनाले तलब पनि जिल्ला कृषि विकास कार्यलयबाट खायौ ।  
स्थानीय तहको पुर्नसंरचनापछि कृषि विभागले सम्बन्धीत स्थानीय तहमा कामकाज गर्ने गरी खटाईयो । विभागले स्थानीय तहमा रकम पठाई हामीले तलब खाने गरी निर्णय भयो । र, मैले  आ.ब. २०७८/२०७९ सम्म डिलासैनी गाउँपालिकामा निरन्तरत सेवा गरे । 
घरपरिवार ठूलो थियो । हामीसँग बस्ने घर थिएन , न त आफ्नो कुनै जग्गा जमिन । बुवाले गाउँका साहुमहाजनको गोठमा बसेर लुगा सिलाउँदै मागेर हामीलाई हुर्काउनु भएको थियो । 
म करारको जागिरेर भएपछि बुवाले जाहान बालबच्चा बस्ने सानो घर बनाउने कुरा गर्नुभयो । घर बनाउने जमिन थिएन ।   
हाम्रो पुर्ख्यौली घर डिलासैनी–७, नेकुडा हो । बुवा बाईम गाउँका जोशी परिवारले जमिन दिन्छौ भनेपछि कुलावन भन्ने ठाउँको एउटा घरको गोठमा पाच छवर्ष बिताएका थियौं । त्यहाँ  पनि एक जना दलितले जोशीले दिएको जमिनमा म कोदो लगाउछु, तिमीलाई घर नजिक जमिन दिन्छु भनेपछि गाउँबासीबाट चन्दा उठाएर घर बनाए ।  त्यो घरमा २०७५ सालसम्म बसे । करारको जागिरले घरको नुनतेल चलेको थियो । 
घरमा आमालाई पेट सम्बन्धी समस्या थियो । आमाको उचार गरिरहेकै बेलामा २०७४ सालमा मेरो श्रीमती  मिनालाई ब्रेन ट्युमरको समस्या भयो । बिरामी भई श्रीमतीलाई भारतको निमान्स हस्पिटल ब्यांलोर,दिल्ली मेडिकेयर हस्पिटल,मैकुलाल वीरेन्द्रनाथ  हस्पिटल पेलभिति,प्रयाग हस्पिटल खटीमा र अन्तिममा चितवन मेडीकल कलेज लगेर २० लाख रूपयाँ ऋण परे । छरछिमेक, नातागोता र आफन्त गाउँका सबैले जागिर छ, तिरी हाल्छ भनेर  पैसा दिए ।  
त्यसैबीचमा २०७९ वैशाखमा स्थानीय तहको निर्वाचन भयो ।  डिलासैनी गाउँपाकिलामा  युवा जोश जाँगर भएका सन्तोशप्रकाश जोशीले गाउँपालिका अध्यक्ष जित्नुभयो । उहाँले एमालेबाट बिद्रोह गरेर स्वतन्त्र रुपमा निर्वाचन जित्नु भएको थियो । सबै खुसीनै थिए । जोशीले गाउँपालिकाको नेतृत्व सम्हाल्नुभयो ।


हामी “ एक गाउँ, एक कृषि तथा पशु प्राविधिक” कार्यक्रम अन्तर्गत काम गर्ने डिलासैनीमा तीन जना धर्मान्नद जोशी,  कर्णबहादुर धामी र म स्वयं हिरा दमाई थियौं । २०७९ असारसम्म हाम्रो करारनामा थियो । असारपछि हामी काममै रहयौ र २०७९ असोज १३ सम्म काम गरियो । त्यती बेलासम्म अधक्षय ज्युले मलाई केही पनि भन्नु भएको थिएन । मसंगै करारमा काम गर्ने दुई जनाको असोजमा तलब आयो । मेरो तलब आएन । गाउँपालिकामा बुझ्दा मेरो नियुक्ति नवीकरण  नभएको थाहा पाए । यो विषयमा अध्यक्षलाई  सोध्न जादा प्रमुख प्रशासकीय अधिकृतलाई सोध भन्ने र प्रमुख प्रशासकीय अधिकृतलाई सोध्दा अध्यक्षलाई सोध भन्न थाले । यसो गर्दा गर्दै महिनौ बित्यो । भएको एउटा करारको जागिर पनि गाउँपालिकाले खाईदियो ।  घरमा आमा र श्रीमती २ जना बिरामी थिए । त्यसमाथि म र मेरो परिवार र बालबच्चा गरि हामी १२ जना पाल्न धौधौ सुरु भयो ।

अहिले देश भरिका सबै कृषि तथा पशु प्राविधिक सबै काममै छन् । मसँगै करारमा २०७३ मा नियुक्त भएका कुनै पनि स्थानीय तहले कृषि जेटिएलाई हटाएको छैन । डिलासैनीले पनि मसँगै नियुक्त भएका दुई जनालाई राखेर मलाई मात्रै हटाएको छ । कारण सोध्दा केही बताउँदैनन् । मलाई स्पष्टिकरणको मौका पनि दिएको छैन ।  म सोच्दै छु ! आखिर मलाई मात्र किन हटाईयो ? मेरो बोल्ने मान्छे कोही छैन । म एउटा दलित समुदायको गरिब मानिस हुँ । अहिले मेरो आमा पिथैरागढ अस्पतालमा हुनुहुन्छ । करिब ५६ वर्ष उमेरका मेरा बुवा बिरामी आमाको उपचार गर्न भारतमा सकी नसकी भारी बोक्दै छन् । खर्च नहुँदा मैले आमालाई भेटन् पाएको छैन । 
गाउँपालिका अध्यक्षज्यू, म एक निम्नस्तरको करारको कर्मचारीलाई हटाएर तपाईले के पाउनुभयो ? आज मेरो सिङ्गो परिवार तपाईका कारण रोईरहेको  छ । मेरो परिवारसँग कमाई खान जमिन छैन भन्ने कुरा तपाईलाई राम्रोसँग थाहा छ । म साह्रै संकटमा छु । महिनौसम्म तपाईलाई भेट्न आउँदा पनि मेरो कुरा सुन्नु भएन । करारका कर्मचारीले केही नभनी सरासर घर जानु पर्ने हो ? यति गर्न देशमा गणतन्त्र र संघीयता आएको हो ? 

हिरा दमाई, डिलासैनी गाउपालीका वडा नं–७, बाईम, दोरेगाडा, बैतडी ।
(हिरा दमाईले निगरानीपत्रलाई पठाएको पत्रको संम्पादित अंश–सं.)
 

 

प्रतिकृया दिनुहोस

Related News

ALL