• आइतबार पौष-७-२०८१

गाउँ रित्तो, शहरमा विकास ! कसरी हुँन्छ देशको विकास ? 

पढ्न लाग्ने समय 15 मिनेट

कनीकुथी लेखेका कुराहरु त्यति उत्कृष्ट हुँदैनन । भोगाई, अनुसन्धानात्मक, विषयको गहिराई बारे जानकारी, विषयबस्तुको खोज, गहिरो अनुसन्धान र सुक्ष्म विश्लेषणले नै पस्कन खोजेको विषय श्रृङ्गारिक र  उत्कृष्ट हुने गर्दछ । अझ भनौ भोगाईलाई कथामा पस्किदा अझ उत्कृष्ट लाग्ने गर्दछन् । भनिन्छ नी जीवनले पाइला पाइलामा हाम्रो अगाडी घटना घटाएर पाठ पढाइरहेको हुन्छ । फरक यति हो कुनैकुनै घटनालाई हामी बेवास्ता गर्छौँ त कुनैकुनैले खोज अनुसन्धान गरेर भित्र सम्म गहिरिन बाध्य बनाउछ । हो मसँग पनि एउटा घटना घट्यो जेष्ठ २९ गते । फलस्वरूप म यो लेख्न बाध्य भएँमैले केही भोगाई, केही विश्लेषण र बस्तुपरक कुराको उठान गर्दै लेखलाई अगाडि सार्ने कोशिस गरेको छु । 
जेठ महिनाको  अन्तिम तिर नेपाली काँग्रेस पार्टीको विधान बमोजिम हुनुपर्ने सम्मेलनहरुको तयारीमा जुटेका थियौं । म पनि हौसिएर यसै अभियानमा होमिएको थिए ।  जेठको २९ गते  थियो बैतडीको मेलौली पालिकाका सबै वडाको सम्मेलन हुने कुरा थियो । म स्वयं मेलौलीको २ नं. वडामा प्रतिनिधि खटिएको थिए । शाहिलेकबाट मोटर चढ्दै निर्वतमान जिल्ला सभापति नरेन्द्रसिंह थापा दाइ र म सलेनातिर हुइकियौं । हामी हतारपतार गर्दै सलेना पुग्यौं । जेठमासको टन्टलापुर घाम थियो । हामी घाममा पिरोलिएका थियौं । एकछिन आराम ग¥र्यौ । दोपहर भैसकेको थियो । होटलतिर हानियौ अलि नपाकेको भात खाएर बस्यौं । 
एकछिन पछि मलाई  एक्कासी पिसाव बन्द भए जस्तो, पेट फुले जस्तो, ढाड दुखे जस्तो र पेट अत्यन्तै दुखेको थियो । म एकछिन अत्तालिए । मेडिकल खोज्न बजारभरी मोटरसाईकल दौडाए  । मेडिकल कतै भेटिएन । छटपटीरहे । एकछिन पछि विवेकानन्द पाण्डेय जीलाई भेटेर आफ्नो समस्या बताए । एकछिन त हेराहेर नै भयो । त्यसपछि स्वास्थ्य संस्थामा गएर दुईटा टेबलेट र तीनटा सुइ लगाएर दुखाई कमभयो । 
पेटभित्र गडबडी के हो ? थाहा थिएन । त्यति खेर हुने कुरा पनि थिएन । त्यतिबेला त्यही राहत मेरा लागि काफि थियो । अबेर वडा सम्मेलनमा सहभागी भए । आफ्ना कुराहरु राखे । कुरा राख्ने बेला तत्कालको पीडा सम्झेर मलाई स्व. विशेश्वर प्रसाद कोइरालाको याद आयो । उहाँले गाउँको विकास नहँुदासम्म देशको विकास हुँदैन भन्ने कुरा भन्नु भएको थियो । यो विषयलाई आफ्नो घट्नासंग जोडेर बडो भावानात्मक रुपमा आफ्ना कुरालाई निरन्तरता दिए । उपस्थित मानिस ध्यान दिएर सुनिरहेका थिए । कार्यक्रम सक्यौं र वडा नं. ३ को कार्यक्रम हुँदै मेलौलीको सम्मेलनका लागि नरेन्द्र दाइ र म मेलौलीतर्फ लाग्यौं । 

दुखाई कम हुने औषधीले कही घण्टा राहत दिए पनि फेरि दुखाईको पुनरावृति हुँदा निकोशक्ति अस्पताल हुँदै जिल्ला अस्पाताल बैतडीसम्म पुगे । केही चेकजाँचहरु गराए । यही हो भन्ने कुरा यकिन हुन सकेन । फेरी केही औषधी थपेर पठायो । यस्तै–यस्तै अस्पताल जाने चेकजाच गर्ने, सुईमार्ने, टेबलेट खाने, बढि दुखेछ भने अस्पताल भर्नासम्म पनि भइयो । यो क्रम करिब १० दिन चल्यो । सलेना, निकोशक्ति, स्थानीय मेडिकल, जिल्ला अस्पताल बैतडी र उपक्षेत्रीय डडेल्धुरा हँुदै धनगढी उपचारमा गए । अन्तिममा ७ एमएमको पत्थर पिसाब नलिमा अडकिएको स्वस्तिक हस्पीटल धनगढीको रेडियोलोजिष्टले देखाइदियो र भन्यो पहाडतिरको आलुहरु यस्तै दुःख दिन्छन् । उहाँले आलु भनेको कुरा मैले बुझिसकेको थिए । पहाडतिरका डाक्टरुहरुलाई आलु भनेपछि मेरो पनि नाक खुम्चिएको थियो । मेरो ३ बजे अपरेसन भयो । अप्रेशनपछि करिब पाँच दिन धनगढी बसे । यो त मेरो सत्य घट्नामा आधारित कथा थियो अब भने मेलै उठान गर्न खोजेको विषय तर्फ अगाडि बढ्छु ।  
सूपका पहाड किन रित्तिरहेका छन ?
पछिल्लो दुई दशकमा बिशेष गरि शिक्षा र स्वास्थ्य सेवाको गुणस्तरीयता  प्राप्तीको लहरमा मानिसहरु पहाडी जिल्लाबाट बसाईसराई गरी कैलाली र कञ्चनपुर गइरहेका छन् । बैतडीको जनसंख्या ऋणात्मक भएको जनगणना २०७८को नतिजाले बताईसकेको छ । कसैलै दोहोरो बसाई गरेका छन् भने कतिले आफ्नो थातथलो  बिक्रि गरेर, मात  गरेर वा बटैया गरेर तराई सर्ने गरेको पाइन्छ । गाउँ रित्तिदै छन् । गाउँ खाली हुँदै बिनासतिर गईरहेका छन् । झट्ट हेर्दा लहरनै चलेको जस्तो देखिए पनि सुविधाको रहरले नै कैलाली कञ्चनपुर सरेका देखिन्छन् । पहाड र तराईको मौसममा धेरै अन्तर छ । तराईमा गर्मीयाममा प्रयोग हुने एसीहरु भन्दा पहाडको चिसो हावा कयौं गुणा स्वस्थकर छ । तराईतिर गर्मीमा अति गर्मी र चिसो पनि अति नै चिसो हुन्छ ।  पहाडबाट बसाइँसरी गएका मानिसहरुलाई मौसमी रुपमा र सामाजिक रुपमा  अन्र्तघुलित हुन धेरै गाह्रो भएको छ, सत्तोसराप पनि गरिरहेकै हुन्छन् । तथापी लाजकाज मौसमी पीडा चै खेपिरहेका छन । यो आम मानिसहरुको रहर भन्दा पनि बाध्यता नै बनिसकेको छ । पहाडमा बिगौ विगा जग्गा छ । कृषि योग्य जमिन पनि छ । जीवन भरी दुःखले आर्जेको धनलाई तराईमा आधा अथवा पुगीहालेछ भने एक कट्ठा जमिन लिएर भूइतले बसाइ गरेका छन् । 
पर्याप्त श्रोत भएका मानिसहरु सुविधासम्पन्न ढंगले बस्छन । तर, के खाउ, के लाउ भन्ने मानिसहरुको दुर्दशा देख्दा यता रित्तिएका पहाड हासिरहेको महसुस हुन्छ ।  पछिल्लो दुईदशक यता पहाडी जिल्लाको ठुलो भुभाग, घरहरु रित्तिएका छन् । यसका पछाडी के–के रहस्य छन् ? यो विषय अन्तिममा गएर हाम्रो राज्य व्यवस्था, वितरणको आधारहरु, सेवा प्रवाह र वितरणको सिद्धान्त र सरकारको दिर्घकालिन योजना सित ठोक्कीन जान्छन् । यतातिर केही छलफल अगाडि बढाआंैं । 
यो लेख लेखिरहदा मुख्यतया स्वास्थ्य सेवा र गुणस्तरीय शिक्षा क्षेत्रसंग जोडिएर लेख्न खोजिएको हो । हाम्रो तत्कालको अवस्था के हो ? 

शिक्षा 
अहिले हाम्रो सरकारी शिक्षा खस्कदो अवस्थामा छ ।  पाठ्यपुस्तक, पाठ्यक्रम, सरकारी शिक्षकहरुको तहगत आधारमा दिइने सेवा सुविधा, विद्यार्थीलाई दिने सरकारी पाठ्यपुस्तक, विद्यार्थीहरुको भर्ना विधि करिब सबै एउटै खालको छ । बैतडी जिल्लामा पनि सरकारी विद्यालयहरुको स्थिति त्यही नै हो ।  हरेक विद्यालयको नेतृत्वले गर्ने प्रशासनिक र गु्णस्तरीय शिक्षा अध्ययन अध्ययापनका प्रयासहरु भलै फरक हुन सक्छन् । अरु सवै एउटै मेल खान जान्छ । बैतडी जिल्लाको हकमा भने केही प्राविधिक शिक्षालयहरु स्थापना भएका छन तर मजबुत भैसकेका छैनन् । केही प्राइभेट (बोर्डिङ) विद्यालयहरु   छन् । संख्यात्मक रुपमा बोर्डिङ विद्यालयहरु त्यति धेरै छैनन् भएता पनि उच्च शिक्षाका लागि कमै छन् । सरकारी विद्यालय पढ्ने विद्यार्थी र पढाउने अभिभावकहरु विश्वस्त छैनन् किन कि स्वयं सरकारी विद्यालयमा पढाउने ग्रेजुएट शिक्षकहरुका नानीबाबुहरु छेउ नजिकैको बोर्डिङ स्कुलमा पढाइरहेका हुन्छन् । आफै शिक्षण गर्ने विद्यालय र आफुले पढाउने विषयका प्रति दृढ आत्मविश्वास  हुन नसक्दा अलि कमै पढेका भएपनि बोर्डिङमै आत्मसमर्पण गरेका कयौं संख्यामा छन् । यो विषयले कही, कतै र कसैलाई पनि घोचेन । 

सरकारी विद्यालयका शिक्षकहरुका नानीबाबु नै बोर्डिङ हुइकीरहदा निजामती कर्मचारी र व्यवसायीहरुका छोराछोरी सरकारी जाने त कुरै हुन्न । बचेकुचेका पहुँच नपुगेका अथवा नजिकको सेवाक्षेत्रमा बोर्डिङ विद्यालयहरु नभएका ठाँउमा मात्र सरकारी विद्यालय जान्छन । यसमध्ये पनि धेरै मानिसहरु पहाडका सरकारी र प्राइभेट विद्यालयहरुको गुणस्तरीयता माथि शंका गर्दै सुविधा सम्पन्न शहर भनेर हुईकिन्छन कैलाली, कञ्चनपुर र अन्यत्र । स्वभाविक रुपमा श्रोतले सम्पन्न लगानीकर्ताहरुले तराईमा ठुलो लगानी गरेको छ । यहाँको भन्दा शैक्षिक गुणस्तर, शैक्षिक पुर्वाधार र शिक्षण विधि समेत उत्कृष्ट पाइने गरेको सत्यता हामी सामु छ । केही राम्रो पढौं र राम्रो गरौं भन्ने मानिस यसैको रहरले शहर हुइकिन्छन् ।  सामाजिक मनोविज्ञान पनि आफ्नै ठाँउका शैक्षिक संस्थाहरु राम्रो बनाउने भन्ने छैन । बरु सजिलो रुपमा बसाई सर्ने छोराछोरी राम्रो संग पढाउने मनोविज्ञान गहिरो रुपमा स्थापित हुँदै गइरहेको छ ।  सरकारी विद्यालयका शिक्षक र बोर्डिङ माथि कटाक्ष गर्न खोजिएको हुँदै होइन । तर, हाम्रो व्यवस्था प्रतिको चिन्तन भने अवश्य हो । व्यवस्था नै यस्तो भएपछि जनताको त कुनै दोष नै रहेन । 

सङ्घीयता पश्चात् शिक्षा स्थानीय तह मातहत गएको छ । विद्यालयको सुपरभिजन, शिक्षक छनोट, विद्यालयको चौतर्फी व्यवस्थापन, कार्यविधि निर्माण, विद्यालयको सवै कार्यक्रम, विद्यालय सुधार योजना, रणनीति निर्माण, शैक्षिक दृष्टिकोण निर्माण, स्थानीय पाठ्यक्रम, परीक्षा र मुल्यांकन  सवै अधिकारहरु  स्थानीय तहका मातहत छन् । त्यहाँ पनि पालिका शिक्षकहरु भनेर राखिएका छन् । सवै भन्दा नजिकको सरकारको रुपमा रहेको स्थानीय सरकारले शिक्षामा खासै उत्कृष्ट नीति निर्माण, व्यवसायिक, उद्यमी शिक्षाको दृष्टिकोण दिन नसकेका कारण झन लथालिङ्ग छन् विद्यालय । 

पहिले–पहिले उच्च शिक्षा हासिल गर्ने विद्यालयहरु नहुँदा बाहिर जाने गर्दथे । तर, अहिले भने गाँउका गाँउ आधारभुत शिक्षा लिनका लागि समेत बाहिर जाने गरेको पाइएको छ । यसका लागि स्थानीय तहका सरकारले शैक्षिक गुणस्तरको अभियान नै सञ्चालन गर्ने, विषयगत शिक्षकहरुको व्यवस्थापन गर्ने, शिक्षकहरुलाई प्रयाप्त तालिमको व्यवस्थापन गर्ने, शिक्षकहरुलाई हौसल्ला प्रदान गर्ने साथसाथै पुरुस्कार र दण्डको व्यवस्था समेत गर्ने । विद्यार्थीहरुका लागि  तहगत, कक्षागत रुपमा अतिरिक्त कक्षाहरुको व्यवस्थापन गर्ने, विद्यार्थीहरुले अतिरिक्त कक्षा लिए वापत खाजाको व्यवस्थापन गर्ने, अतिरिक्त कक्षामा सहभागी शिक्षकहरुलाई अतिरिक्त खाजा र भत्ताको व्यवस्थापन गर्ने, साना नानीबाबुहरुका लागि खुसीयाली कक्षाहरु सञ्चालन गर्ने, माथिल्लो कक्षाका विद्यार्थीहरुलाई मौलिक अर्थतन्त्र सुहाउदो उद्यमी कक्षाहरु सञ्चालन गर्ने, शिक्षक र अभिभावकका विचमा अन्र्तक्रिया गर्ने, अभिभावक र विद्यार्थीका विचमा खुल्ला अन्र्तक्रिया गर्ने यस्तै खाले थुप्रै नविनतम विचारहरुको सिर्जना गरेर समय सुहाउँदो शैक्षिक अभियान गर्न सकियो भने अत्यन्तै राम्रो पहाडको वातावरणमै राम्रा राम्रा विद्यार्थी उत्पादन गर्ने  इजुकेशनल हवका रुपमा निर्माण गर्न सक्यौं भने रित्तिरहेको पहाडमै सुन फल्ने सम्भावना रहन्छ ।  

अर्को महत्वपूर्ण गर्नुपर्ने काम सिमाना जोडिएका, भुगोल मिलेका दुई÷तिन पालिकाहरुले जोइन्टभेन्चरमा राम्रो खालको प्राविधिक शिक्षालयहरु स्थापना गरेर त्यसलाई “टेक्नीकल इजुकेशनल हवका” रुपमा निर्माण गर्नुपर्छ । शिक्षाको सुविधाका लागि हुईकिने जमात यतै बसेर अध्ययन गर्छ । राम्रो जनशक्ति उत्पादन हुन्छ । आफ्नै ठाउँमा केही राम्रो गर्ने अभ्यास गर्नेछ ।  विस्तारै बलियो अर्थतन्त्रका रुपमा पहाडी  जिल्लाहरुले पनि काँचुली फेर्नेछन् । 

एकदशक यता प्रविणता–पत्र तहको अध्ययन सकिएपछि विद्यार्थी भिषाका रुपमा अष्ट्रेलिया, क्यानाडा, युके, युयसए, जपान लगायतका देशहरुमा जाने निकै ठूलो लहर चलेको छ । देश निर्माण गर्ने ठूलो जनशक्ति ठूलो लगानी गरेर बाहिरिदैछन । हरेक एक सताब्दीमा एक पटक हरेक देशका लागि युवा उमेर १८ देखि ४० बर्ष उमेर समूहका मानिसहरुको जनसंख्या अनुपातमा बढि हुन्छ ।  युवा उमेर, देश युवामय बन्दा देशको प्रगति हुनुपर्छ भन्ने विश्वव्यापी मान्यता हो । नेपालका लागि अहिले उपयुक्त समय हो । जनसांख्यिकी लाभांश लिन सक्नुपर्छ । तर, नेपालको युवा जनशक्ति विद्यार्थी भिषाका रुपमा अथवा रोजगारीका शिलशिलामा दैनिक जसो हजारौंको संख्यामा विदेशिरहेका छन् । अल्पकालीन रुपमा विप्रेषणले देशलाई केही हदसम्म धानेपनि दिर्घकालिन रुपमा देशको उन्नति र प्रगतिको ग्राफ धेरै माइनस हुन जान्छ ।

त्यसकारण, सवै तहका सरकारले शिक्षाको गुणस्तरीयता, मौलिक अर्थतन्त्र सुहाउदो शिक्षा प्रणाली, शिक्षामा एउटै नीति अख्तियार गरेर सरकारी विद्यालयहरुलाई राम्रो बनाउने दिशामा लाग्नुको बिकल्प छैन । नत्र भने पहाड रित्तिने छन् तराई भरिने छ, बड्दो जनसंख्याको चापले हुने अति गर्मी, अति चिसो, जलबायु परिवर्तनले नेपाली समाजले दुःख मात्र बोक्नुपर्ने छ । त्यसकारण सर्वसुलभ, निशुल्क रुपमा गुणस्तरीय शिक्षा सरकारको पहिलो प्राथमिकता हुनुपर्छ । 

स्वास्थ्य सेवा  

शिक्षा जस्तै अर्को महत्वपूर्ण कुरा हो स्वास्थ्य सेवा ।  उपयुक्त स्वास्थ्य सेवा पाउनका लागि पहाडका मानिसहरु अझ बाहिरिने क्रम बढ्दो छ । धेरै जसो हुनेखाने मानिसहरु शिक्षा र स्वास्थ्य सुविधाको लहरले उपयुक्त स्थानको छनोट गरिरहेका छन् । मानौ कि अहिले बैतडी जिल्लामा मौजुदा अवस्थामा रहेका स्वास्थ्य सेवा प्रदायक संस्थाहरु जे जति छन राम्रो गर्ने अभ्यास गरिरहेका छन् । अभ्यास गर्दा गर्दै पनि दक्ष जनशक्तिको अभाव, पुर्वाधारहरुको अभाव, औजारहरुको अभाव, विशेषज्ञ डाक्टरहरुको अभाव, उपचार सामाग्री र औजारहरुको अभाव, रोग पहिचान गर्न सक्ने क्षमताको अभाव । सवैखाले अभावहरुको विचमा हरेक स्तरका स्वास्थ्य संस्थाहरु चलिरहेका छन् । सिप छ तर साधनश्रोतको पर्याप्ता छैन, साधन छ तर सिप छैन, जनशक्ति छ तर उपयुक्त तालिमहरुको व्यवस्थापन छैन । यस्तो परिस्थितिका विच हाम्रो ग्रामीण भेगको स्वास्थ्य सेवा चलिरहेको छ । 

यी तमाम अभावका कारण– मानिस क्यान्सरको विरामी हुन्छ, पत्थरी निको हुने औषधी खाइरहेको हुन्छ,  पत्थरीको सिकार भएको छ तर ग्यास्ट्रिकको औषधी खाइरहेको छ, नसा ब्लक भएर दाया हात र खुट्टा नचल्ने भएको हुन्छ, औषधी क्याल्सीयम र भिटामिनहरुको चलाएको हुन्छ । समयमै रोग पहिचान नहुँदा प्राय मानिसहरु दुःख पाइरहेका हुन्छन् । जव उपचारका लागि बाहिर हुइकिन्छन अनी नाक खुम्चीने गरी पहाड तिर आलु हुन्छन् भनेको सुन्नु पर्ने हुन्छ । यही नियती भोग्नु परेको छ । 

यो विषयलाई लिएर उपलब्ध भएको श्रोत साधन र जनशक्तिलाई ब्यङ्गय गर्न खोजेको हुँदै होइन । उहाँका प्रति श्रद्धाभावले सम्मान छ । जे–जे प्रयास छन् उत्कृष्ट नै छन् । तर, हाम्रो विभद गर्ने राज्य व्यवस्थासंग फेरी यी तमाम प्रश्न ठोकिन्छन् । सरकारी अस्पतालहरुको सेवा खुम्चिनु, प्राइभेट अस्पातालहरु फस्टाउनु, उनै सरकारी अस्पतालमा भएका विशेषज्ञहरुका नीजि अस्पतालप्रतिको लगाव हुनुले नेपालको सरकारी स्वास्थ्य सेवा खस्कदो अवस्थामा छ । 

समान्य उपचारका लागि समेत नागरिकले भएको घरजग्गा नै बन्धकी राखेर उपचार गर्नुपर्ने स्थितिको सिर्जना भएको छ । घरजग्गा राख्न नसक्नेले अकालमै  ज्यान गुमाउनु पर्ने अवस्था छ ।  नागरिकसंग समान्य औषधी मुलो गर्न समेत पैसा छैन । सानो–सानो अपरेसनका लागि समेत लाखौंको डिलिङ हुने गर्दछ । समान्य उपचार गर्दा पनि लाखौंको विलिङ हुने गर्दछ । यसकारण सरकारले सर्वसुलभ शिक्षा र स्वास्थ्य सेवा अनिवार्य सर्तका रुपमा लैजानु पर्छ ।  

जटिल प्रकृतिका रोगहरुको उपचारका लागि मात्र नभएर समान्य उपचार गर्न समेत मानिसहरु सुविधाका  बाध्यताले पहाडबाट तराई बसाई सर्ने गहिरो रुपमा स्थापित भैसकेको छ । यसकारण पनि पहाड रित्तिदै गएका छन् । तराई भरिएको छ । उफ ! गर्मी र चिसो भन्दै सत्तोसरापेका छन् । 

प्राथमिक स्वास्थ्य केन्द्र, आधारभुत स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकीहरुमा ९८ प्रकारका औषधीहरुले निःशुल्क रुपमा पाउने भनिएता पनि यी केन्द्रहरुमा सिटामोलसमेत पाउन मुस्किल हुने गर्दछ । सधैं औषधीको अभाव हुने गर्दछ । निःशुल्क रुपमा पाउनु पर्ने समान्य औषधी समेत सहज रुपमा उपलब्ध हँुदैन । 

राज्य निर्लज्ज छ, । शिक्षा र स्वास्थ्य सेवा केही मानिसहरुको नियन्त्रणमा छ । शिक्षा र स्वास्थ्यमा भएको चरम व्यापारिकणले केही व्यक्ति मोटाए तर, देश हरिकंङ्गाल बन्दै गएको छ । नागरिकले सास्ती खेप्नु परेको छ । जबसम्म सर्वसुलभ, गुणस्तरीय शिक्षा र स्वास्थ्य सेवा हुँदैन तबसम्म देश बन्दैन केही बिचौलीया मात्र मोटाउने छन् ।   

सरकारले प्रत्येक जिल्लामा न्यूनतम रुपमा भएपनि १०० शय्याका अस्पतालहरु स्थापना गरी दक्ष जनशक्तिको प्रयाप्तता, श्रोतसाधनहरुको उपलब्धता, हरेक रोगका विशेषज्ञहरुको उपलब्धता गरी निःशुल्क रुपमा उपचार गर्ने नीति अख्तियार गर्नुपर्छ । 
  
साहित्यकार “गजल” लेखक प्रदिप रोदनले  भने जस्तै  
ठूलो रोग नलागोस् 
नत्र रोग लागेकै दिन बेच्नुपर्छ सरकार 
गरीबले भएको जग्गा जमिन बेच्नुपर्छ 
अस्पताल सम्म घाइते मक्किएको स्टेचरमा आउछ
यो कुन देश हो सद्दे मान्छे हेर्न हेलिकप्टरमा आउछ 
पटक पटक पत्थर नबनेको पश्चाताप लाग्छ मलाई 
जव कलशमा चढेर स्वयम फुल पत्थरमा आउछ 
आज सम्म नआएको त्यही खुसी मात्रै त हो आमा 
दुख, अभाव, हुरी, झरी सव हाम्रो घरमा आउछ...... 

प्रदिप रोदनले बाचन गरेको गजलमा हाम्रो वास्तविकता झल्केको छ । यही वास्तविकतामा गरीबको जीवन चलेको छ । घरमा भएको राशन बेचेर अस्पतालमा जाँच गर्न जानु सम्मका कारुणीक हाम्रो वास्तविकतालाई राज्यले निर्लज्ज भएर हेर्ने छुट छैन अब । शिक्षा र स्वास्थ्यलाई निःशुल्क रुपमा सेवा प्रवाह गर्ने नीति कार्यान्वयन गर्न जरुरी छ । नत्र बाको औठी बेचेर दलाललाई राहदानी दिनु बाहेकको विकल्प देखिदैन । स्व. विशेश्वर प्रसाद कोइरालाले भने जस्तै ः जबसम्म गाँउको विकास हुँदैन, तब सम्म देश बन्दैन । देश बनाउन गाउँको विकास गर्नुपर्छ । गाँउका शिक्षण संस्थाहरु, गाँउका स्वास्थ्य संस्थाहरु बलिया र सेवा प्रभावकारी हुनुपर्छ । शहरको झिलमिलीले गाँउको अन्धकार देख्दैन ।  चेतना भया ! 

प्रतिकृया दिनुहोस

Related News

ALL