• आइतबार पौष-७-२०८१

अपमानित गाउँका नाम फेर्दै उपप्रमुख  

पढ्न लाग्ने समय 2 मिनेट

बैतडी, चैत २६ गते । पाटन नगरपालिका–५, का गणेश वडलाई कतै जाँदा आफ्नो गाउँको परिचय दिँदा अपमानित हुने डरले गाउँको परिचय नै लुकाउनु पर्ने बाध्यता थियो तर अहिले भने उहाँको गाउँको नाम सिर्जना टोल नामाकरण गरिँदा यो समस्या हटेर गएको छ ।  
दलितलाई होच्याउने र अपमानि हुने गरि राखिएका ‘डुमेउडा, लुहार भ्वाँ, भुलेउडा’ जस्ता दलित बस्तीका अपमानित नाम फेर्न पाटन नगरपालिकाका उपप्रमुख कमल बोरा आफै खटिएपछि पाटनका २३ वटा दलित बस्तीका नाम परिवर्तन भएका छन् ।
कानुनी रुपमा जातीय विभेद हटेको भनिए पनि दलित बस्तीका नाम जस्ताको तस्तै रहेकाले नगर कार्यपालिकाबाट निर्णय नै गरेर दलित बस्तीका अपमानित नाम फेर्ने कार्यक्रम सुरु गरेको पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहराले बताउनुभयो । 
उहाँले, पाटन नगरपालिका–५,को दलित बस्तीको नाम डुमेउडाबाट फेरेर  नयाँ नाम रानीघाटको साईनबोर्ड नै झुण्ड्याएको बताउनुभयो । त्यसै गरि, पाटन–६,का छवटा टोल, ७ नम्बर वडाका तीन वटा टोल गरि २३ वटा दलित बस्तीका नाम फेरिएका छन् । 
नगरपालिकाबाट उपप्रमुखको टोली आएर दलित बस्तीको अपमानित नाम फेरेर रामपुर खिएको पाटन नगरपालिका–१,का दलितराम बिकले बताउनुभयो । 
उहाँले भन्नुभयो,“ उपप्रमुख आफै नयाँ साइनबोर्ड बोर आउँनुभयो । हामीले त कुनै योजनाको साइनबोर्ड होला भन्ने सोचेका थियौं तर, त्यो साइनबोर्ड त हाम्रै बस्तीको नयाँ नाम रहेछ ।” 
उहाँले,दलित बस्तीका अपमानजनक नाम फेरिएकोमा असाध्यै खुसी लागेको बताउनुभयो । समाजमा अझै पनि जातीय विभेद कायम रहेको बताउँदै उहाँले नगरपालिकाले अब साइनबोर्ड सँगै दलितलाई आत्मनिर्भर बन्न परम्परागत सीपलाई आधुनिकीकरण गर्न सहयोग गर्नु पर्ने माग राख्नुभयो । 
दलितका पेशा व्यवसाय र सीपको संरक्षण गर्न नगरपालिकाबाट अनुदान र मेशिन उपकरणका लागि आवश्यक पहल गर्ने उपप्रमुख कमलसिंह बोहराले बताउनुभयो । 
उहाँले भन्नुभयो,“ दलित बस्तीका नाम फेर्दा दलित संघ, संस्थाका अगुवाले पूर्ण रुपले साथ दिएनन् । समस्यालाई उजार गर्ने मात्रै होईन अब, समाधानसहित त्यसको निराकरण गर्न म आफै दलित बस्तीका अपमानित नाम फेर्न हिँडेको हुँ ।” 
दलित बस्तीका नाम फेर्दा कतिपयले यो उपप्रुमख त पहिचान मेटाउन हिँडेको भनेर आलोचना पनि गर्ने गरेको उहाँले बताउनुभयो । 
बैतडी जिल्लाको कुल जनसङ्ख्या दुई लाख ४४ हजार मध्ये दलितको जनसङ्ख्या ५० हजार रहेको छ । १० स्थानीय तह र ८४ वडामा विभाजित बैतडीका स्थानीय तहका प्राय जसो दलित बस्तीका नाम अमानित रहेका छन् । पाटन नगरपालिकाले जस्तै अन्य स्थानीय तहले पनि दलित बस्तीका अपमानित नाम फेर्न पहल गर्नुपर्ने नागरिक अगुवाले बताएका छन् । 

प्रतिकृया दिनुहोस

Related News

ALL