ब्यानरमा मजदुर दिवस, सडक किनारको पीडा उस्तै
पढ्न लाग्ने समय 6 मिनेट
बैतडी, वैशाख २० गते । औपचारिक रुपमा विश्व मजदुर दिवस सकिएको छ तर, मजदुरका पीडा सकिएका छैनन् । स्वदेशमा रोजगारी नहुँदा अधिकांश युवा÷पुरुष विदेशिएका छन् । विदेशिनेको दुर्घटना बिमा छैन । स्वदेशमा दैनिक ज्याला मजदुरी गर्ने महिलाको पुरुष सरह समान ज्याला छैन । त्यसमाथि कतिपय अवस्थामा महिलाहरु ठेकेदारबाट ठगिने गरेका छन् ।
बैतडी सदरमुकामा दैनिक ज्याला मजदुरी गर्ने महिलाले ठेकेदारबाट पैंसा नपाएको गुनासो गरेका छन् । महिला मजदुरले दिनभरि गिट्टी कुटेको पैंसा समेत ठगेर ठेकेदार बेपत्ता भएको दशरथचन्द नगरपालिका–४, बाडीलेकका मजदुर मीरा भुलले पीडा सुनाउनुभयो ।
हातका औंलाबाट रगत चुहाएर कुटेको गिट्टीको ४० हजार रुपियाँ नदिएर ठेकेदार बेपत्ता भएको गौमति भुलले पीडा सुनाउनुभयो । गौमति मात्रै होईन, मिरा भुलले पनि गिट्टी कुटेको ३५ हजार रुपियाँ नदिई पाटनका एक पेटी ठेकेदार सम्पर्कविहीन भएको पीडा सुनाउनुभयो । दैनिक ज्याला मजदुरी गरेको रकम नदिएर ठेकेदार सम्पकविहीन हुँदा साँझ–बिहान चुलो बाल्न धौधौ भएको उहाँहरुले पीडा सुनाएका छन् ।
सडक किनारमा दिनभरि गिट्टी कुटेर ठेकेदारले प्रति बोरा ७० रुपियाँका दरले लगेको गिट्टीको पैंसा नदिएको महिला मजदुरको गुनासो छ ।
त्यसमाथि, ज्याला मजदुरी गर्ने महिलाहरुले पुरुष सरह काम गर्दा पनि महिलालाई छ सय र पुरुषले ८५० रुपियाँ पाउने गरेको दशरथचन्द गनरपालिका–४, की अर्की महिला मजदुर कलावती भुलले पीडा सुनाउनुभयो ।
मजदुरी गर्ने अधिकांश महिलाहरु मुक्त हलिया परिवारका छन् । हलिया मुक्तिको घोषणापछि उचित किसिमको गास, बासको व्यवस्था नहुँदा कामको खोजीमा घरका पुरुष भारत पस्ने गरेका छन् भने महिलाहरु दैनिक ज्याला मजदुरी गर्दै आईरहेका छन् ।
महिला मजदुरको स्वास्थ्य बिमा छैन
वर्षौदेखि धुलो माटोमा कठिन काम गर्दै आईरहेका महिला मजदुरले किड्नीमा पत्थरी भएको, ग्यास्ट्रिक÷ गोलोगानो र पाठेघर सम्बन्धी स्वास्थ्य समस्या भएको बताएका छन् । उपचार गर्ने खर्च नहुँदा रोग पालेर बस्नु पर्ने समस्यासमेत देखिएको छ । पोषिलो खानेकुरा नपाउँदा महिला मजदुरका बालकालिकाको स्वास्थ्य अवस्था पनि राम्रो छैन ।
ज्याला मजदुरी गरेर चुलो बाल्नै धौधौ हुने भएकाले स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध हुन नसकेको महिला मजदुरले पीडा सुनाएका छन् ।
अधिकांश पुरुष भारत, दुर्घटना बिमा छैन
स्वदेशमा रोजगारीको अवसर नपाएपछि भारत लगायत तेश्रो मुलुक जाने अधिकांश मजदुरको दुर्घटना बिमा छैन । विदेश नगए जीविका नै नचल्ने बाध्यताले गाउँका अधिकांश युवा÷पुरुष कामको खोजीमा गाउँ छाड्ने गरेका छन् । कार्यस्थलमा दुर्घटना हुँदा ज्यान जाने र अङ्गभङ्ग हुँदा परिवारको बिचल्ली हुने गरेको छ ।
यो वैशाखमा मात्रै भारतमा काम गर्ने बैतडीका दुई जना आप्रवासी कामदारले दुर्घटनामा परि अकालमै ज्यान गुमाएका छन् । सडक दुर्घटना, जोखिमपूर्ण काम र प्रदुषित वातावरणमा काम गर्नु पर्दा परदेशीको जीवन÷स्वास्थ्य जोखिममा पर्ने गरेको छ ।
पाटन नगरपालिका–६,का हिमाल बिष्ट भारतमा ज्याला मजदुरी गर्ने क्रममा मेशिनमा बेरिएर दाँया हात काटिएपछि अपाङ्ग बनेर घर फर्किनु भएको छ । वृद्ध आमा, श्रीमति र छ वर्षीया छोरीको लालनपान गर्ने सपना बोकेर भारत पसेका २६ वर्षीय बिष्टको कमाई खाने हात गुमेपछि परिवारको बिचल्ली भएको छ ।
कामको खोजीमा सुदूरपीश्चमबाट करिब पाँच लाख नेपाली भारतमा काम गरिरहेको सुदूरपश्चिमेली समाज भारतको तथ्याङ्क छ । बैतडी जिल्लाबाट मात्रै ५० हजार भन्दा बढी नेपाली कामदार भारतमा रहेको सुदूरपश्चिमेली समाज, भारतको आजादपुर क्षेत्रका अध्यक्ष बिष्णुदत्त भट्टले बताउनुभयो । उहाँले भारतमा काम गर्ने लाखौं मजदुरको दुर्घटना बिमा र घर परिवारको स्वास्थ्य बिमा नभएको बताउनुभयो ।
उहाँले, परदेशमा अकालमै ज्यान गुमाउनेको रोईदिने र बोलिदिने मानिस नभएको पीडा सुनाउनुभयो । स्थानीय तहको सरकारले गाउँमा रोजगारी दिन नसक्दा भारत आउनेको सङ्ख्या बढ्दै गएको बताउनुभयो । कामको खोजीमा विदेशिनेको दुर्घटना बिमा र घरपरिवारको स्वास्थ्य बिमा नहुँदा मजदुरको सिङ्गो परिवार जोखिममा रहेको छ ।
स्थानीय तहमा औषधी किन्न आउने वार्षिक २० लाख रुपियाँ मध्ये परदेशीका घर पविारको निःशुल्क स्वास्थ्य बिमा र कमदारको दुर्घटना बिमा गरिदिनु पर्ने आप्रवासी कामदारले माग गरेका छन् ।
बिमा गर्ने संस्थाको कार्यक्रम बन्द
भारतमा काम गर्ने आप्रवासी कामदारको निःशुल्क दुर्घटना बिमा गर्दै आएको संस्थाको कार्यक्रम बन्द भएको छ । रुडेस बैतडीले पाटन नगरपालिका र दशरथचन्द नगरपालिकाबाट भारतमा काम गर्न जाने कामदारको निःशुल्क दुर्घटाना बिमा गर्दै आईरहेको थियो ।
उक्त संस्थाले गत वर्ष पाटन नगरपालिकामा एक हजार ९६ जना आप्रवासी कामदारको पाँच लाख रुपियाँ बराबरको दुर्घटना बिमा गरेको थियो । यो वर्ष करिब चार सय जनाको दुर्घटना बिमा गर्दागर्दै कार्यक्रम बन्द भएको जानकारी आएको पाटन नगरपालिकाका उपप्रमुख कमलसिंह बोहराले बताउनुभयो ।
अक्सफाम नेपालको आर्थिक तथा रुडेस बैतडीको प्राविधिक सहयोगमा सञ्चालित कार्यक्रमको समयावधि सकिएकाले कार्यक्रम बन्द भएको रुडेस बैतडीका कार्यकारी निर्देशक गोविन्दराज जोशीले बताउनुभयो । उहाँले, कार्यक्रमको निरन्तरताका लागि स्थानीय तहबाट आएका माग दातृ निकायमा पठाएको जानकारी दिनुभयो ।
श्रीमानको मृत्यु, बिमा रकम पर्खिदै श्रीमति
भारतमा मजदुरी गर्दै आउनु भएका पाटन नगरपालिका–१,का प्रमोदसिंह बोहराको दुर्घटनामा परि मृत्यु भएपछि उहाँकी श्रीमति दुर्घटना बिमाको पाँच लाख रुपियाँको पर्खाईमा हुनुहुन्छ ।
नगरपालिका र स्थानीय साझेदार संस्थाको अगुवाईमा बोहराको निःशुल्क दुर्घटना बिमा गरिएको थियो । उहाँको अचानक दुर्घटनामा परेर मृत्यु भएपछि घर परिवारको बिचल्ली भएको छ ।
कमाउने श्रीमान्को मृत्युपछि घरधन्दा चलाउन समस्या भएका बेला बिमा कार्यक्रमले थोरै भए पनि जिवीका चलाउन टेवा पुग्ने अपेक्षा गरिएको छ । पीडतको घर परिवारलाई बिमा रकम उपलब्ध गराउन भुक्तानीको मागदाबीसति फाईल तयार भएको पाटन नगरपालिकाका बिमा कार्यक्रम हेर्दै आउनु भएका अधिकृत राजेन्द्र प्रसाद भट्टले जानकारी दिनुभयो ।
दलका आफ्नै मजदुर संगठन
विभिन्न राजनीतिक दलका आ–आफ्नै मजदुर संगठन भए पनि मजदुरका हकहितका विषयमा भने दलका नेताले खासै चासो नदिएको सरोकारवालाको भनाई छ ।
राजनीतिक दलले चुनावमा मात्रै प्रयोग गर्ने गरेको मजदुरको गुनासो छ । दलमा आबद्ध हुन आह्वान गरिए पनि मजदुरका आधारभूत मुद्दा ज्यूँका त्युँ रहेको भूमि अधिकारकर्मी महेश वडले बताउनुभयो ।
उहाँले, मजदुर किसानले व्यवस्था परिवर्तन गर्न राजनीतिक दललाई साथ दिए पनि बेरोजगारी, भूमिहीन, सुकुमबासी, हलिया, खलिया जस्ता समस्या समाधान हुन नसकेको बताउनुभयो ।
नेताका डोजरले रोजगारी खोस्यो
स्थानीय तहको पुर्नसंरचनापछि वडा र पालिकाको विकास निर्माणमा नेताका डोजर प्रयोग हुँदा रोजगारी खोखिएको छ । चुनाव जितेपछि बैतडीका अधिकां नेताले आफ्नै डोजर किनेर विकासे योजनामा प्रयोग गरिरहेका छन् । बाटो खन्न नेताको डोजर आएपछि काम खोज्न भारत जाने युवाको सङ्ख्या बढेको छ ।
गाउँमा ज्यालामजदुरी गरेर जिवीका चलाउने कुनै काम नपाएपछि भारत पसेको पुर्चौडी नगरपालिकाका मनीराम बोहराले बताउनुभयो । बोहरासँगै सिगास गाउँपालिकाका नरे धामी, पाटन नगरपालिकाका विष्णु भट्ट लगायतका युवा विदेश पलायन भएका छन् ।
प्रतिकृया दिनुहोस