• आइतबार पौष-७-२०८१

विभेदको हिलोमैलौ पखाल्दै उपप्रमुख ‘कमल’ 

पढ्न लाग्ने समय 4 मिनेट

बैतडी । बैतडीको पाटन नगरपालिकाका उपप्रमुख एवं न्यायिक समितिका संयोजक कमलसिंह बोहराले सामाजिक विभेदको हिलोमैलो पखाल्ने अभियन सुरु गर्नुभएको छ । उहाँको अगुवाईमा दलित बस्तीका अपमानित नाम फेरिन थालेका छन् । उपप्रमुखको अगुवाईमा एक वर्षमा पाटन नगरपालिका भित्रका २२ वटा दलित बस्तीका अपहेलित नाम परिवर्तन भएका छन् ।  


पाटन नगरपालिका–६, परिवर्तिन नाम बयलबाटा टोलकी फुन्नी वादीको गाउँको नाम फेरिएपछि वडाबाट सिफारिस माग्ने सरकारी कागजपत्रदेखि विद्यार्थी भर्ना गर्दा अपमानित गाउँको नाम लेख्नु पर्ने बाध्यता हटेको छ । 
अपलेहित गाउँको नामले विभेद खेप्नु परेको पीडा सुनाउँदै पाटन नगरपालिका–६, की फुन्नी वादीले भन्नुभयो, “ खर किन्न अर्को गाउँ पुग्दा तिर्खा लागेर पानी माग्दा घर ठेगाना सोधियो । पाटन हो भन्दा स्टिलको लोटामा पानी दिने तयारी गर्दा, पाटन कुन गाउँ हो ? भनेर पुनः सोधियो । दलितको गाउँको नाम सुन्ने बित्तिकै उक्त लोटा फिर्ता लगेर शौचालय जाने प्लास्टिकको भाँडामा पानी पिउन दिईयो । अपमानित भएपछि पानी नपिई फर्किए ।”  
एक वर्ष अघि फुन्नी वादीले गाउँको नामका कारण अपमानित हुनुपरेको तीतो अनुभव जनप्रतिनिधिलाई सुनाउनु भएको थियो । जनप्रतिनिधिलाई झ्ट्ट सुन्दा नाममा के छ र ? भन्ने लग्यो । 
पाटन नगरपालिका उपप्रमुख एवं न्यायिक समितिका संयोजक कमलसिंह बोहराले यो समस्या खोज्दै जाँदा नगरपालिकाभित्रका थुप्रै दलित बस्तीका नाम अपहेलित भएको पाउनुभयो । उहाँ अहिले यो अपमानको हिलोमैलो पखालेर दलित बस्तीका नाम फेर्न अग्रसर बन्नुभएको  छ ।
वादी समुदायलाई बैतडीमा भाड भनेर अपमानित नामले बोलाउने कुप्रचलन छ । यही कुप्रथा अनुसार फुन्नी वादीको गाउँको नाम भडाड÷भटाड भनिन्थ्यो । जनप्रतिनिधिको अगुवाईमा अहिले भटाडसहित पाटन नगरपालिका भित्रका २२ वटा दलित बस्तीका अपहेलित नाम परिवर्तन भएका छन् ।   

उपप्रमुख कमलले फुन्नी वादीको गाउँको नाम फेरेर बयलबाटा टोल नामाकरण गरिएको साईनबोर्ड राख्नु भएको छ । वडाबाट सिफारिस लिनजाँदा र विद्यार्थी भर्ना गर्दा अहिले कागजपत्रमा बयलबाटा नाम लेख्न पाउँदा खुसी लागेको स्थानीय बिमला दासले बताउनुभयो । 
बैतडीमा दलित समुदायका बस्तीका नाम मात्रै होईन, मृत्युपछि पुग्ने चिहानघाटका नामसमेत अपमानजक रहेका छन् । पाटन नगरपालिका–५,को डुमेउडा गाउँको नाम फेरेर अहिले सिर्जना टोल राखिएको छ । सोही ठाउँको डुमचेडा (डुम चिहान)को नाम फेरेर रानीघाट राखिएको उपप्रमुख कमलसिंह बोहराले बताउनुभयो । 


उहाँले,संविधानमा जातीय विभेद गर्न नपाईने स्पष्ट व्यवस्था भए पनि गाउँ÷समाजमा अझैं पनि जातपातको हिलोमैलो कायम रहेको बताउनुभयो । अहिले पनि  दलितका गाउँको नाम भुलेउडा, डुमेउडा, ढोल्यौडा रहिरनु नगरपालिकाकै बेइज्जत हुने भएकाले नाम फेर्न जरुरी देखिएको  बताउनुभयो ।  
“दलित समुदाय श्रम र सीपका खानी हुन्,” उपप्रुमखले भन्नुभयो, “ भडाहा, चैतलो गाएर संस्कृति जोगाउने दलितनै हु्न् । मन्दिरको त्रिशूल बनाउनेदेखि छलिया र भडाहा नाच्ने कला पनि दलितसँग मात्र छ । यद्यपि समाजमा बाँचुन्जेल अमान र मृत्युपछि चिहानघाटसम्म जातीय विभेद खेप्नु परेको    छ । यस्ता गलत कुराले समाजको प्रगति हुँदैन । जनप्रतिनिधिका हैसियतले यो अपमानको हिलोमैलो पखाल्न म अघि बढेको हँु ।”
उहाँले, नगर कार्यपालिकाको वैठकबाट पाटन नगरपालिकाभित्र रहेका दलित टोलका अपहेलित नाम फेर्ने निर्णय अनुसार एक वर्षदेखि गाउँबस्तीमा पुगेर नयाँ नामका साईनबोर्ड फेर्दै आएको बताउनुभयो । 
नगरपालिकाले दलित टोलका अपमानित नाम फेर्ने निर्णय गरेपछि फेरिएका नाम मध्ये पाटन नगरपालिका–१, नम्बरको रामपुर, २ नम्बर वडाको पल्लोसिहा, ५ नम्बर वडाका सिर्जनाटोल, रानीघाट, ६ नम्बर वडाका तल्लोलोर्खा, तिलगाउँ, बयलबाटा, तल्लो लामाखेत, पल्लो नागाडीबाटा, ७ नम्बर वडाका सुनधारा, नागडुङ्गा, ढुङ्गेधारा लगायत २२ वटा दलित बस्तीका नयाँ नामका साईनबोर्ड लगाईएका छन् ।  
नाम जस्तै आँगन पनि फेरिए
नगर उपप्रमुख कमलसिंह बोहराले दलित बस्तीका अपहेलित नाम फेरिएका साइनबोर्ड राख्न थालेपछि पाटन नगरपालिका–६,को बयलबाटा टोलका घरआँगन नगरपालिका भरिकै सफा,सुग्घर टोलका रुपमा परिचित हुन थालेका छन् । 


घरायसी सरसफाइका दृष्टिले बयलबाटा दलित बस्तीको नाम अहिले नगरपालिका भरिमै अग्रस्थानमा आउन थालेको नगर उपप्रमुख कमलसिंह बोहराले बताउनुभयो । घरआँगनको सरसफाइ हेर्न बयलपाटा जानुहोस् भन्ने सिकाइ हुन थालेको उहाँले बताउनुभयो ।  
सरकारी कागजपत्रमा बयलबाटा नाम लेख्न पाउँदा यहाँका दलित खुसी देखिन्छन् । पहिले गाउँको नाम अपमानित थियो । अहिले नाम फेरिएपछि  टोलभरिका घरआँगन सफा सुग्घर राख्न सबै एकजुट भएको स्थानीय बिमला दासले बताउनुभयो ।
बालबालिकाको मनोवल बढ्योे 
अपमानित गाउँको नाम फेरिएपछि विद्यालय जाने बालबालिकाको मनोवल बढेको स्थानीय दलित अगुवा चन्द्री पहरीले बताउनुभयो । अपहेलित गाउँको नाम जोडेर परिचय दिनु पर्ने  बाध्यता हटेकोमा बालबालिका खुसी भएका छन् । 
पाटन नगरपालिका–६, बयलबाटा टोलबाट नयाँ शैक्षिक सत्रमा ४० जना विद्यार्थी भर्ना भईरहेको स्थानीय श्रीकृष्ण मावि पाटनका प्रधानाध्यापक वीरेन्द्र केसीले जानकारी दिनुभयो । उहाँले, भर्ना अभियान चलिरहेकाले दलित बस्तीबाट भर्ना हुने विद्यार्थी सङ्ख्या अझै बढ्ने दाबी गर्नुभयो ।  

भिडिओ

प्रतिकृया दिनुहोस

Related News

ALL