३७ वर्ष विद्यालयको लेखापाल, उपचार गर्ने खर्च नहुँदा बेहाल
पढ्न लाग्ने समय 2 मिनेट
बैतडी, असार ३ गते । उपचार गर्ने खर्च नहुँदा विद्यालयका एकजना पूर्वलेखापाल अहिले प्यारालाइसिस भएर अपाङ्ग छोरासँगै ओछ्याँनमा थला पर्नु भएको छ । विद्यालयमा ३७ वर्ष लेखापालको नोकरी गरेर नगरपालिकाले रित्तोहात पठाउँदा कपालमा हात राखेर घर फर्किनु परेको उहाँले पीडा सुनाउनुभयो ।
दोगडाकेदार गाउँपालिका–४, लटकालीका ६४ वर्षीय वीरसिंह ठगुन्नाले २०४२ सालदेखि २०७९ सम्म दशरथचन्द नगरपालिका–६, नकतडी स्थित सरस्वती संस्कृत माविमा लेखापाल भएर काम गर्नुभयो । उमेर पुगेको भन्दै दुई वर्षअघि उहाँलाई दशरथचन्द नगरपालिकाले अवकास दियो तर, कुनै सुविधा नदिई रित्तोहात घर पठाएपछि उहाँको परिवारको बिचल्ली भएको छ ।
उहाँको छोरा उपदेश ठगुन्ना जन्मजात अपाङ्ग भएर ओछ्याँनमा परेका बेला छोरासँगै उहाँ पनि ओछ्याँनमा थला पर्नु भएको छ । वृद्ध श्रीमतिको सहारामा भित्र–बाहिर आउने जाने गरे पनि उपचार गर्ने खर्च नहुँदा अस्पताल जान नसकेको वीरसिंह ठगुन्नाले पीडा सुनाउनुभयो ।
३७ वर्षसम्म करारमा विद्यालयको लेखापाल भएर काम गरे पनि घर फर्किदा कुनै सुविधा नमिलेको उहँले गुनासो गर्नुभयो । स्थानीय सरकारले अन्यापूर्णढङ्गले पदबाट हटाएर घर पठाएपछि न्ययका लागि अदालतसम्म पुगेको उहाँले बताउनुभयो ।
“ विद्यालय कर्मचारीमाथि स्थानीय सरकारले अन्याय ग¥र्यौ,” ओछ्याँनबाट लर्बरिएको बोलीमा उहाँले भन्नुभयो, “ विद्यालय कर्मचारीको कुरा सुन्ने कोही भएन । बुढेसकालको सहारा मानेको छोरा पनि अपाङ्ग जन्मियो । जाउलो खाने पैंसा छैन । उपचार कसरी गरौं ?”
वीरसिंह ठगुन्ना २०४२ सालमा विद्यालयको लेखापालको पदमा भर्ना हुँदा मासिक तलब १५० रुपियाँ पाउनुहुन्थ्यो । त्यसपछि तलब बढेर १२ हजार पुग्ने बेला उहाँलाई उमेरहदको कारण देखाएर नगरपाकिलाले विसंं.२०७९ मा अवकास दिएर सो पदमा अर्का व्यक्तिलाई भर्ना ग¥यो ।
विद्यालय कर्मचारीले कुनै सुविधा नपाएको विषयमा सम्पर्क गर्दा दशरथचन्द नगरपालिकाका शिक्षा शाखा अधिकृत हरिस भट्टले नगरपालिकासँग श्रोत नभएको र स्पष्ट कानुनी व्यवस्था नभएका कारण सुविधा दिन नसकिएको बताउनुभयो ।
शिक्षा विकास तथा समन्वय इकाइ बैतडीका प्रमुख नरेन्द्रप्रसाद अवस्थीले नयाँ शिक्षा ऐन नआएसम्म विद्यालय कर्मचारीलाई हटाउन नमिल्ने बताउनुभयो । हटाउनै पर्ने भए विद्यालय वा नगरपालिकाले श्रोत जुटाएर सुविधा दिनु पर्ने उहाँले बताउनुभयो ।
तस्बिरःछोरासँगै ओछ्याँनमा थला पर्नु भएका पूर्वलेखापाल वीरसिंह ठगुन्ना ।
प्रतिकृया दिनुहोस